|

जुम्ला : अबको तीन बर्षपछि अर्थात २०७९ सालमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सञ्चालन गर्ने गरी तयारी भइरहेपनि खेल पूर्वाधार निर्माणको अवस्था दयनीय देखिएको छ। 

रकम अभाव भएपछि जिल्ला खेलकुद विकास समितिले अघि बढाएको भलिबल मैदानमा प्यारापिट निर्माण कार्य नै प्रभावित भएको छ। बजेट नै नभएपछि अहिले भलिबल मैदान निर्माण कार्य रोकिएको छ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)  मा उल्लेख भएअनुसार भलिबल मैदानका लागि प्यारापिट निर्माण गर्न एक करोड रूपैयाँ लाग्ने अनुमान छ। तर अहिलेसिम्म श्रमदानसहित २६ लाख बजेट रूपैयाँ बराबरको काम मात्र गरिएको छ। खेलमैदानमा प्याराफिट बनाउन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले नै पहलकदमी लिएको छ।

प्रदेशस्तरको मन्त्रालयले नै खेल मैदानको प्याराफिट निर्माण गर्न पहल लिएपनि बजेट अभाव भएपछि अहिले निर्माण कार्य रोकिएको छ। मन्त्रालयले विनियोजन गरेको २६ लाख रूपैयाँ बजेटबाट प्यारापिटको जग निर्माण र पिलर मात्र ठड्याउने काम भएको, तर बजेट नभएपछि त्यसपछिका काम रोकिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरमबहादुर महत बताउँछन्‌।

जुम्लामा यही चैत अन्तिम साता राष्ट्रपति खेलकुद प्रतियोगिता समेत आयोजना गरिँदैछ, तर भलिबल मैदानमा प्याराफिट नै निर्माण नगरिँदा मैदान नै अस्तव्यस्त बनेको छ। महत भन्छन्, 'थोरै बजेटबाट भएपनि काम सुरू गरौँ,  पछि थप बजेटका लागि  संघीय, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरौँ भनेको, तर जति प्रयास गर्दा पनि बजेट जुट्न सकेको छैन।'

राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्ने काम जारी रहेकोले थप बजेटको विनियोजन हुने र निर्माणधीन प्याराफिटको निर्माण कार्य सम्पन्न हुने अपेक्षा गरेको उनले बताए।

जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा प्यारापिट नभएका कारण प्रतियोगिता हेर्न आउने दर्शकलाई बस्न निकै समस्या हुने गरेको छ। छानासहितको प्यारापिट निर्माण भएपछि दर्शकलाई खेल हेर्न सहज हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.