रक्त संचार केन्द्र पर्सामा रगतको अभाव सुरु

|

पर्सा : विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण सामूहिक रक्तदानमा आएको कमीले पर्साको रक्त संचार केन्द्रमा रगतको अभाव हुन थालेको छ। कोरोनाको हल्लासँगै भीडभाड र समूहगत काममा आएको कमीले सामूहिक रक्तदानमा परेको असरसँगै रगतको पनि अभाव हुन थालेको हो।

वीरगन्जका विभिन्न अस्पतालमा आउने बिरामीका लागि दैनिक ४० देखि ६० पोकासम्म रगत चाहिन्छ। तर, अहिले सामूहिक रक्तदानमा मन्दी आएकोले बिरामीका लागि चाहिने रगतको माग धान्न अप्ठ्यारो हुन थालेको रक्त संचार केन्द्र वीरगन्जको संयोजक मधु राणाले बताइन्। 'सहकारी र बैंकले पछिल्लो समयमा गर्ने कोठे रक्तदानले ठूलो अभावलाई धानेको छ। नत्र सामूहिक रूपमा हुने ठूला रक्तदान कम हुँदा सकस पर्ने थियो' उनले भनिन्।

हरेक महिना १५०० पोका रगत खपत

वीरगन्जमा मात्र साना क्लिनिक छोडेर नारायणी अस्पताल, इण्डो हस्पिटल, अली हस्पिटल, श्रीराम हस्पिटल, एएमसी अस्पताल, सीता हस्पिटल, कृष्णा हस्पिटल, भवानी अस्पताल, प्रभु हस्पिटल, न्यूरो हस्पिटल, गण्डक हस्पिटल, हेन्थ केयर हस्पिटल, बयोधा नारायणी हस्पिटल, न्यू नारायणी अस्पताल, तराई हस्पिटल, नेशनल मेडिकल केलेज, सूर्य हस्पिटल, गरी २० वटा जति ठूला अस्पताल छन्।

फोटो : प्रभु हस्पिटलले तीन महिना पहिले आयोजना गरेको सामूहिक रक्तदान कार्यक्रममा रक्तदान गर्दै सर्वसाधारण र सुरक्षाकर्मी। अहिले यस्तो सामूहिक रक्तदान हुन छोडेको छ।


ती सबै हस्पिटलमा आउने बिरामी मध्ये रगत चाहिने खालका बिरामीलाई महिनामा १ हजार ५०० पोका जति रगत चाहिन्छ। तर, त्यसको तुलनामा रक्तदान हुन छाड्यो। ठूलो रक्तदाता समूहलाई भन्न पनि भिडभाड कम गर्नुपर्ने छ।

यस्तै, अवस्था हुने हो भने कोरोनाको प्रकोपसँगै पर्साको हकमा भने बिरामीका लागि चाहिने रगतको पनि अभाव खड्किने कुरा नकार्न नसकिने रेडक्रश वीरगन्जका सभापति वीरेन्द्रराज कँडेलले बताए। रक्त संचार केन्द्र पर्सा रेडक्रश सोसाइटी पर्सा मातहत नै छ।

बिरामीका आफन्तलाई फकाउँदै अभाव पूर्ति गर्दै 

‘रगत खोज्दै आएका बिरामीका मानिसलाई नै ‘कन्भिन्स' गरी अलि बढी रक्तदान गराउँदै आउँदा कामसम्म चल्दै छ। तर, यस्तै अवस्था रहिरहे आगामी दिनमा सकस हुन्छ' रक्त संचार केन्द्र तथा रेडक्रश वीरगन्जका प्रशासकीय अधिकृत उदयराज शर्माले थाहाखबरलाई भने। 

कोरोना संक्रमणका कारण सभा, सम्मेलन वा भिडभाडमा कमी गर्नुपर्ने भएको हुँदा रक्तदाता संस्थालाई खुल्ला रक्तदान गर्न जोड गर्ने अवस्था छैन। त्यसैले कोरोनाको प्रभाव रक्तदानमा पनि पर्न थालेको छ। विकल्प के गर्ने भन्ने पनि सोच्न नसकिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.