एक हप्ताका लागि सम्पूर्ण खेलकुदका गतिविधि बन्द गर्न राखेपको निर्देशन

|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल स्थगित गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि एन्फाले जारी ‘बी’ लिग स्थगित गरेको हो। एन्फाले आज प्रेस विज्ञप्ति निकाल्दै ‘बी’ लिग आगामी चैत १२ गतेसम्मका लागि स्थगित गरेको जनाएको छ। ‘बी’ डिभिजन लिगमा छैटौं चरणका खेलहरू भइरहेको थियो।

यसअघि आजै सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको राखेपको बैठकले एक हप्ताका लागि देशभर हुने सम्पूर्ण खेलकुदका गतिविधि बन्द गर्न निर्देशन दिएको थियो। एक हप्तापछि परिस्थिति हेरेर खेलकुद गतिविधि गर्ने/नगर्ने भन्नेबारे निर्णय गरिने राखेपले जनाएको छ।

अहिले कोरोनाको जोखिमबाट बच्न सचेतना अपनाउनु आवश्यक भएको भन्दै राखेपेल खेलकुदसँग सम्बन्धित प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनार तत्काल बन्द गर्ने निर्णय गरिएको जनाएको छ। 

दुवै खेलमा बराबरी

यसअघि मंगलबार दिउँसो भएका दुई खेल बराबरीमा सकिएका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स्‍मा मंगलबार भएको खेलमा ब्वाइज युनियन र आरसिटी २–२ तथा सातदोबाटो र झम्सीखेलले १–१ गोलको बराबरी खेलेका हुन्। छैठौं चरणको खेलअन्तर्गत मंगलबार आरसीटिले ब्वाइज युनियनविरुद्ध तेस्रो मिनेटमा अग्रता लिएको थियो। अजित गुरुङले गोल  गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

प्रतिस्पर्धात्मक भएको खेलमा ब्वाइज युनियनका लागि कप्तान टंक बहादुर स्याङ्देन गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। २४औं मिनेटमा राकेश हमालले आत्मघाती गोल गर्दा ब्वाइज युनियनले अग्रता पाएको थियो। तर ३५ औं मिनेटमा आरसिटीका लागि नवीन मान कर्माचार्यले गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए। त्यसपछि दुवै टोली स्पष्ट जितका लागि खेले पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन्। बराबरीसँगै ब्वाइज युनियनले ६ खेलबाट तालिकामा ८ अंक जोडेको छ भने आरसीटीले ६ खेलमा ६ अंक जोडेको छ।

अर्को खेलमा झम्सीखेलले १०औं मिनेटमा लिएको अग्रतालाई अन्तिम १९ मिनेट कायम राख्न नसक्दा अंक बाँडेको हो। निकै रोमाञ्चक बनेको खेलमा झम्सीखेलले भुवन राईको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा भने झम्सीखेलले कायम राख्न असफल भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.