|

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकामा गत वैशाखमा टेका नपुगेर बन्दाबन्दै भत्किएको पुल पुनः निर्माण हुने भएको छ। नगरपालिकाको वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथिको पुल बन्न सुरु भएको हो। पुस महिनाबाट निर्माण सुरु भएको पक्कि पुलको अहिलेसम्म बिम बोरिङ, रड विच्छ्याउने लगायतका काम भइरहेको छ। 

बडिगाढ खोलामाथि बन्दै गरेको पुल गत वैशाख १ गते आइतबार राती टेका नपुगेर भत्किएको थियो। ढलान गरेको दुई दिनपछि भत्किएको पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माणले जिम्मा लिएको थियो। कुल ५८ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले र टेका नपुगेर भत्काएको हुनसक्ने अनुमान गरिएको थियो।

त्यसपछि पुलको अनुगमन र अध्ययन गर्न वैशाख ३ गते मंगलबार काठमाडौबाट विज्ञ समुह गुल्मी आएको थियो। वि.स. ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो। तर काम गर्दा खोलामा बाढी आउने लगायतका कारणले निर्माण सामग्री नै बगाउन थालेको थियो। 

करोडौंको लगानीमा पुल 

निर्माणको काम धमाधम सुरु भएसँगै पुल कसले र कहिले बनाउछ भन्ने बारेको निरास अब सकिएको छ। पहिले नै पुल बनाउने जिम्मा पाएको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले नै पुल निर्माणको काम अगाडी बढाएको छ।

कम्पनीका अनुसार पुलको नेको इन्स्योरेन्समा बीमा गरेका कारण आर्थिक रुपमा क्षति बेहोर्नुपरेन। स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रमअन्तरगत कुल पाचँ करोड १७ लाखको लागतमा पुल बन्न लागेको शव इन्जिनियर इन्द्र विलास पोख्रेलले जानकारी दिए। जसमध्ये दुई करोड ७३ लाखभन्दा बढी भुक्तान भइसकेको छ। 

यात्रामा सहजता हुने

पुल निर्माण सकिएसँगै साविकको मुसिकोटदेखि वामीसम्म आवाज–जवतमा निकै सहज हुन्छ। अहिले नगरपालिकाको केन्द्र वामिदेखि जिल्ला सदरमुकाम तम्घाससम्म पुग्न ३४ किलोमिटर यात्रा गर्नुपर्छ। तर पुल बनेसँगै उक्त यात्रामा १० किलोमिटर कमि भई २४ किलोमिटरको यात्रामा तम्घास आउन सकिनेछ।

त्यसका साथै मुसिकोट नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा ५, ६, ७, ८ र ९ का नागरिकलाई जोड्ने मार्गको रुपमा बडिगाढ खोलाको पुल रहेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। जसमध्ये वडा नम्बर १ देखि ४ सम्मका नागरिकलाई नगरपालिका केन्द्रसम्म यसै पुलले जोड्ने गर्दछ।

नगरप्रमुख सापकोटाले निर्माण कम्पनीले पोहोरको कमजोरी सच्याएर काम गरेकोले यस बर्ष सहजै पुल निर्माण हुनेमा आफु विश्वस्त रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.