|

काठमाडौं : महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण त्रास बढेपछि नेपालको वैदेशिक रोजगार क्षेत्रमा पनि प्रभाव देखिन शुरू भएको छ।  सरकारले श्रम स्वीकृति बन्द गरेसँगै यतिखेर राहदानी (पासपोर्ट) बनाउने र कन्सुलर सेवामा लिने विभागमा सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ।

महामारी निम्त्याएको कोरोना भाइरस संक्रमण फैलिनुअघि नारायणहिटी दरबार म्युजियमस्थित राहदानी विभागमा दैनिक झण्डै ८०० जना राहदानी बनाउन जाने गरेका थिए। तर कोरोना संक्रमणका कारण हवाई उद्योग र श्रम बजार समेत प्रत्यक्ष मारमा परेपछि अहिले दैनिक बढीमा ३०० मानिसहरू आउने गरेको विभागका सूचना अधिकारी शत्रुध्वन शर्मा पोख्रेलले जानकारी दिए।

'सरकारले श्रम स्वीकृति दिन बन्द गरेको र रोजगारदाता मुलुकले विमानस्थल बन्द गर्दा राहदानी बनाउनेको संख्या घटिरहेको हो,' पोखरेलले भने, 'साविक समयमा दैनिक १ करोड रूपैयाँ हाराहारीमा राजस्व संकलन हुने गरेको थियो, अहिले त्यसको आधामा झरेको छ, यसले केही समयको लागि राजस्व संकलनमा  पनि प्रभाव पार्छ।'

राहदानी विभाग भीडभाड हुने ठाउँ भएपनि तत्काल बन्द नहुने उनले जानकारी दिए। नेपाल सरकारले पूर्ण रुपमा बन्द गराउन आदेश दिएमा मात्र बन्द गर्न सकिने उनले बताए। नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिएकोले पनि बन्द गरिहाल्ने स्थिति आइनसकेको उनको भनाई छ।

सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर विभागमा 'हेल्थ डेस्क' राख्ने तयारी भइरहेको उनले जानकारी दिए। राहदानी बनाउन आउनेले कमसेकम स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायलाई पत्राचार गरिसकेको पोखरेलले बताए।

विभागका अनुसार यतिखेर सबैभन्दा बढी झापाको नागरिकले काठमाडौंबाट राहदानी बनाइरहेका छन्‌। राहदानी बनाउनेमा पुरुषको संख्या बढि रहेको पोखरेलले जानकारी दिए।

कन्सुलर विभागमा पनि सेवाग्राहीको संख्या

कन्सुलर विभागमा पनि प्रवेशाज्ञा (भिसा) प्रकृया अगाडि बढाउन, विदेशमा रहेका आफन्तलाई भेट्न जान तथा आफन्तको शव झिकाउनलाई आउने सेवाग्राहीको संख्या पनि घटेको छ। सूचना अधिकारी सूजनी राणाका अनुसार विश्वका अन्य मुलुकमा कोरोना संक्रमण फैलिएसँगै विभागमा यतिखेर दिनको ७०० देखि ८०० सेवाग्राही आइरहेका छन।

भाइरस संक्रमण फैलनुअघि विभागमा दैनिक १,२०० जनासम्म आउने गरेको राणाले जानकारी दिइन्। वैदेशिक रोजगारमा जानको लागि अहिले पनि 'पुलिस-रिपोर्ट' बुझाउने क्रम भने रोकिएको छैन।

'हेल्थ डेस्क' राख्नको लागि विभागमा छलफल भइरहेको प्रवक्ता राणाको भनाइ छ। सेवाग्राही घट्दै गएकाले कन्सुलर विभाग पनि राजस्व घट्ने चिन्तामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.