अधिकांश हाेटल र रेस्टुरेन्ट खाली

|

काठमाडौंः  विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै नेपालमा त्यसको प्रभाव पूर्ण रुपमा परेको देखिएकाे छ।

विश्वव्यापी महामारी बनेको कोभिड-१९ ले नेपालको पर्यटन र व्यापारिक क्षेत्रमा प्रभाव पर्न थालिसकेको छ। नेपाल सरकारले नेपाल पर्यटन वर्ष २०२० स्थगित गरिसकेको छ।

यतिखेर काठमाडौं उपत्यकाको व्यापरिक क्षेत्र असन तथा तथा पर्यटकीय क्षेत्र ठमेल सुनसान जस्तै बनेको छ। अधिकाशं व्यक्ति खाद्य सामग्री संकलनमा जुटेका छन्।

यो समय ठमेल पर्यटकको लागि दोस्रो सिजन हो। अंग्रेजी महिनाको मार्च,अप्रिल र मेमा हिमाल चढ्न आउने पर्यटकको संख्या बढनुपर्ने थियो। तर, कोरोना भाइरसको कारण ठमेल सुनसान बनेको छ। हिजोआज ठमेलमा बाहिर मास्क लगाएका अनुहार देखिन थालेका छन्। ठमेलको व्यापार र वातावरण सुनसान भएकाे छ।

ग्राहक आउन कमी भएसँगै साथीहरुसँग गफ गर्नु र घाम ताप्नुबाहेक अर्को विकल्प नरहेको दुखेसो पोख्छन्, इजरायली रेस्टुरेन्ट ओआरटुकेका कर्मचारी राम तामाङ। 

सिजनमा आफूलाई बस्न फुर्सद नहुने, तर अहिले काम नभएर तलब नपाइएला भन्ने चिन्ता बढेको उनले सुनाए। 'होटल चलेको छैन, तलब पनि नपाइएला भन्ने चिन्ता छ, 'उनले भने, 'केही साथी गाउँतिर गइसकेका छन्।'

अहिले काठमाडौं उपत्यकाको एक मात्र पर्यटकीय बजारको रुपमा रहेको ठमेलमा पर्यटकको संख्या घटिसकेको छ। अधिकांश होटलमा पर्यटक नभएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोलले बताए।

ठमेलमा मात्र साना ठूला गरेर २ सय ५६ होटल रहेको उनले जानकारी दिए। होटल र रेस्टुरेन्ट मात्र १ सय ५० वटा छन्। ठमेलमा काम गरेर खाने मजदुरको संख्या ५५ हजार छ,’ उनले भने, ’होटलमा रहेका मजदुरलाई तलब दिन गाह्रो भइसकेको छ। उनीहरुलाई राख्ने वा वैकल्पिक व्यवस्था गर्ने व्यवसायी अन्याेलमा परेका छन्।'

व्यावसायीले पसल खोल्ने र बन्द गर्ने समय परिवर्तन गर्न थालिसेका छन्। ग्राहकको संख्या घटेकोले साविक समयभन्दा अलिक ढिलो खोल्ने थालेको ब्रज बुक्सका सञ्चालक बिदुर डंगोलले बताए। पसल पनि छिटो बन्द गर्न थालिसकेको र यहाँ धेरै समय बस्दा पनि भाइरस सर्ने त्रासले छिटो बन्द गर्न थालिसकेको उनको भनाइ छ।

तस्बिरहरु : शीला तिम्सिना 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.