|

इलाम : निर्यातजन्य कृषि उपजमा सरकारी र गैरसरकारी संस्थाबाट करोडौँ अनुदान प्रवाह हुने गरेपनि जापान निर्यात हुने नेपाली कागज उद्योगी अझै लगानीको पर्खाइमा छन्। सरकारले निर्यातजन्य वस्तुमा राखेपनि उच्च पहाडी र हिमाली क्षेत्रका जनताको आयश्रोतको माध्यम लोक्ता र अर्गेली खेतीलाई प्रोत्सहान नगर्दा जीवनस्तर समेत माथि उठ्न सकेको छैन। 

१० वर्षदेखि गुणस्तरीय नेपाली कागज उत्पादन गरी जापान निर्यात गर्ने इलामका जीवन फागोको उद्योगले अहिलेसम्म आधुनिकता पाउन सकेको छैन। अदुवा, अलैंची र चिया उद्योगले सरकारी/गैरसरकारी संस्थाबाट करोडौँ सहयोग पाएपनि उनलाई सरकारले अहिलेसम्म अनुदान दिएको छैन। उनी परम्परागत भट्टीमै कागज उत्पादन गर्न बाध्य छन्। जापानी नोट छाप्न उच्च माग हुने नेपाली कागजको बजार समस्या नभएपनि आधुनिक प्रविधि र सीप हस्तान्तरणमा सरकारी ध्यान पुग्न नसकेको फागो गुनासो गर्छन्‌।

लेकाली बस्तीमा जंगली जनावरबाट खेतीबाली जोगाउन बारको रुपमा किसानले अर्गेली रोप्‍ने गर्छन्। सोही अर्गेलीबाट उत्पादन हुने लोक्ता प्रशोधनबाट विदेशी मुद्रा आर्जन राम्रो भएपनि सरकारी सहयोग नपुग्दा उद्योग बन्द हुने क्रम बढ्दो छ। उद्योग दर्तामा झन्झटिलो सरकारी प्रक्रिया, दक्ष प्राविधिक तथा आधुनिक प्रविधि हस्तान्तरण नहुँदा अर्गेली खेती गर्ने किसान र उद्यमी समस्यामा पर्दै आएका हुन्।

वन क्षेत्रदेखि तीन किलोमिटर टाढा उद्योग स्थापना गर्नुपर्ने प्रावधानले परम्परागत रुपमा संचालनमा आएका उद्योगहरु पनि बन्द हुन थालेको नेपाली कागज उद्यमी मनोज राईले बताए। उद्योग दर्ता नभएपछि बैंकहरुले लगानी नगर्ने भएकाले पूँजी अभावले बन्द हुन थालेको उनले बताए। नेपालबाट निर्यात हुने १९ वटा वस्तुको सूचीमा रहेको नेपाली कागज उद्योगको विकासका लागि सरकारी ध्यान चाहिँ अझै पुगिरहेको छैन।

इलाम र पाँचथरका विभिन्न स्थानमा परम्परागत रूपमै कागज उद्योग सञ्चालन गरिँदै आएको छ। किसानले स्थापना गरेका कागज उद्योगको विस्तारका लागि सरकारी सहयोग नभएको र उद्योगीले थप लगानी गर्न क्षमता नभएकाले संकटमा परेको घरेलु तथा साना उद्योग कार्यालय इलामले जनाएको छ।

४ ग्रेडमा उत्पादन हुने नेपाली कागजमध्ये उच्च गुणस्तरको कागज जापान निर्यात हुन्छ। उच्च गुणस्तरको कागज प्रति ताउ ५० रूपैयाँमा बिक्रि हुन्छ। इलामका अन्य नगदेबालीमा सरकारी/गैरसरकारी संस्थाले विगत १० वर्षयता दुई अर्ब रूपैयाँभन्दा बढी सहयोग गरेपनि नेपाली कागज उद्योग र अर्गेली खेतीमा यो सहयोग प्रवाह भएको छैन।

नेपाली बजारमा जापानी येन बनाउने कच्चा पर्दाथ लोक्ता ५० रुपैयाँदेखि १८० रुपैयाँ प्रतिकेजीसम्म खरिद-बिक्री हुने गरेको नेपाल हस्तनिर्मित कागज संघ (हेन्डपास) को तथ्यांकमा उल्लेख गरिएको छ। 

सरकारी कामकाजका लागि भरपर्दो

मध्य पहाडी भेगमा पाइने रेसादार वनस्पति अर्गेली प्रशिद्ध नेपाली कागजको कच्चा पदार्थ हो। सामान्यतया: उत्पादनका सबै प्रक्रियाहरू हातैले गरिने र पहाडी क्षेत्रमा उत्पादन हुने भएकाले यसको नाम पनि 'नेपाली हाते कागज' वा 'पहाडे कागज' रहन गएको हो।

हेर्दा आकर्षक देखिने यो कागजको टिकाउपना (भण्डारण) अत्यधिक र जस्तो मसीले लेखे पनि यसमा कुनै अनावश्यक दाग वा धब्बा नदेखिने भएकोले लिखित दस्तावेजहरूमा यसको प्रयोग बढी हुने गरेको छ। त्यसैले सरकारी कामकाजलगायत प्रशासनिक निकायहरूमा नेपाली कागज प्रयोग अनिवार्यजस्तै गरिएको छ।

कानुनी कामकाजका लागि त यो सबै ठाउँमा अनिवार्य नै छ। दुई–तीन मिटरसम्मको अग्लो बोट हुने यो लोक्ता 'कास्टिक सोडा'सँग पकाउने गरिन्छ। पाकेको लोक्तालाई घोल बनाएर कालीगढबाट विभिन्न आकार र तौलमा यो कागज तयार गरिन्छ।

नेपाली कागजको प्रयोग विभिन्न हस्तकलाका सामाग्रीहरु निर्माणमा पनि हुने गरेको छ। नेपालबाट विदेशी मुलुकमा निर्यात हुने सामाग्रीमा पनि यो पर्छ। जापान सरकारले त यो कागजबाट जापानी मुद्रा येन नै निर्माण गर्दछ। जापानलगायत यो कागज नर्वे, जर्मनीजस्ता मुलुकमा निकासी हुँदै आएको छ। इलाम लगायतका देशका ५५ जिल्लाका वनमा लोक्ता पाइन्छ। वनबाट संकलन गरिएका लोक्तालाई कागज बनाउने गरिएको छ। 

उत्पादनको उच्च संभाव्यता

नेपालका ७७ मध्ये ५५ जिल्लामा लोक्ता उत्पादन हुन्छ। बिशेष गरेर प्रदेश नम्बर एक, तीन, पाँच र छ नम्बर प्रदेशका यसको उत्पादन हुन गरेको सरकारी तथ्यांकले देखाउँछ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको तथ्यांकअनुसार बार्षिक रुपमा २० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा १ लाख १० हजार ४८१ टन लोक्ता उत्पादन हुने गरेको छ। जसमा १ हजार टन मात्र उपयोग गरिँदै आएको छ।

१ हजार टन लोक्ताबाट ३३० टन कागज उत्पादन हुने गरेको छ। १ केजी ताजा र वयस्क लोक्ताबाट ४०० ग्राम नेपाली कागज उत्पादन हुँदै आएको छ। ताजा लोक्ताबाट मात्रै ३ सय ग्राम उत्पादन हुने गरेको हेन्डपासले जनाएको छ। 

जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) ले नेपालमा अर्गेली खेतीको सम्भावनाबारे ४ बर्षअघि अध्ययन गरेको थियो। हस्तकलाका सामग्रीका रुपमा र त्यहाँको जापानी येन छाप्न र राहदानी निर्माणमा समेत नेपाली कागजको प्रयोग हुँदै आएको छ। नेपाली कागजको कच्चापदार्थ जंगल नै हो र अहिलेसम्म स्थानीयस्तरमै सहज रूपमा कच्चा पदार्थ उपलब्ध हुने भएकाले जनताको आय आर्जन बढिरहेको छ। तर अर्गेली प्रर्वद्धनमा सरकारी लगानी नहुँदा संकट रहेको देखिन्छ। 

लोक्ताबाट उत्पादित कागज नरम र टिकाउ हुनुका साथै किराहरुबाट नष्ट गर्ने जोखिम कम हुने भएकाले माग उच्च रहेको छ। चीन, भारत, फिलिपिन्स थाइल्यान्ड लगायतका मुलुकमा उत्पादन हुने कागज भन्दा फरक र गुणस्तरिय भएकोको कारण नेपाली लोक्ता र अर्गेलीको कागजको माग जापानमा उच्च छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.