|

जाजरकोट : यो हिउँदमा पटक-पटक परेको हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम रोकिइँदै आएको छ।

चैत महिनाबाट विकास निर्माणको काम शुरू गर्न ठिक्क परेका उपल्लो डोल्पावासीहरुले पुनः चैत २ गते भारी हिमपात परेपछि विकास-निर्माणको काम एक महिना पछि सारेका छन्‌। शे फोक्सुण्डो, छार्का ताङसोङ र डोल्पोवुद्ध गाउँपालिकामा अझै विकास निर्माणका काम शुरू हुन सकेको छैन। बैशाखबाट मात्र विकास निर्माण काम शुरू हुने शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए।

'हिमपात भएकाले हामी काठमाडौँमा छौँ, कसरी बस्नु? असाध्य चिसो छ,' उनले भने, 'गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लयायतको सवै जनप्रतिनिधि यतै छौँ, हिउँ पग्लिएपछि गाउँपालिकामा गएर विकासका काम शुरू गछौँ।' हिमपात नहुने कर्णाली प्रदेशका अन्य जिल्लामा ७० प्रतिशत विकास निर्माणका काम भइसकेको समयमा उपल्लो डोल्पामा भने शुरू नै हुन सकेको छैन।

असार मसान्तसम्म तोकिएका सबै विकासका आयोजना निर्माण सम्पन्न गर्न चुनौती देखिएको छ। शुरू नै नभएको विकास निर्माणको काम बैशाखबाट शुरू गर्नासाथ उपल्लो डोल्पाका स्थानीयवासीहरु यार्सागुम्वा संकलनका लागि पाटनमा जाने गर्दछन्। घरमा ताला लगाएर यार्सागुम्वा संकलन गर्न जाने यहाँ स्थानीयवासीहरु विकास निर्माणको काममा समय दिन नपाउने समस्या रहेको छ।

तातो मौसम शुरू भएपछि आवश्यक खाद्यान्न लिएर उपल्लो डोल्पा जाने यहाँका सर्वसाधारणहरु यस पटक चैतमा समेत हिमपात हुँदा थप मर्कामा परेका हुन्।

हिमपातकै बीच 'एक घर-एक व्यवसाय कार्यक्रम' शुरू

शे फोक्सुण्डो गाउँपालिकाले हिमपातकै बीचमा एक घर एक व्यवसाय कार्यक्रम शुरू गरेको छ। व्यवसायमार्फत रोजगारी सिर्जना गर्ने भन्दै गाउँपालिकाले प्रस्ताव माग गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।

अहिले १८ वर्ष देखि माथी ५० वर्षभन्दा तलका स्थानीयवासीलाई व्यवसाय गर्नका लागि प्रस्ताव माग गरिएको उनले बताए। कुनै पनि घर व्यवसाय गर्नबाट बन्चित नहुन भनि यो कार्ययोजना अगाडी ल्याइएको गाउँपालिकाले दाबी गरेको छ।

रक्तश्रावका कारण सुत्केरी विकको मृत्यु

मंगलबार बेलुकी नलगाड नगरपालिका–१२ औलगुत्ता स्वास्थ्य चौकीमा सुत्केरी भएकी रुकुम पश्चिम आठविसकोट नगरपालिका–६ दामाचौरकी २७ वर्षीया बिष्णु विकको मृत्यु भएको छ।

विकको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उनका श्रीमान् रविलाल विकले जानकारी दिए। सुत्केरी भएदेखि नै निरन्तर रगत बगिरहेको र प्रभावकारी उपचार नहुँदा विकको मृत्यु भएको पीडित रविलालले बताए। विकका तीन छोरा छन्।

स्वास्थ्य संस्थामा एक जना अनमी मात्र उपचारमा खटिएको कारण प्रभावकारी उपचार नभएको पीडितको आरोप छ। नवजात शिशुको अवस्था भने सकुशल रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.