|

झापा : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले सजगता अपनाउन विभिन्न निर्णय गर्दै देशभर लागू हुने गरी कडा निर्देशन जारी गरेको छ।सरकारले कडा निर्देशन जारी गरे पनि झापाको सीमा नाकामा कोरोनाविरुद्ध त्यस्तो सजगता अपनाएको देखिँदैन। भारतको विहार तथा पश्चिम बंगाललसँग जोडिएको भद्रपुर सीमा नाकाबाट आवतजावत गर्ने सर्वसाधारणको स्वास्थ्य परीक्षण सीमित समय अवधिसम्म मात्र हुने गरेको पाइएको छ। भारतको पश्चिम बंगाल सरकारले भद्रपुरतर्फ आउने नाका बन्द गरिसकेको छ। 

विहार सरकारले नाका खुला राख्दा त्यहीबाट भद्रपुर नाका भएर दैनिक सयौँ संख्यामा दुवै देशका नागरिक आवतजावत गरिरहेका छन्। तर, उनीहरूको स्वास्थ्य परीक्षण बिहान साढे १० देखि बेलुका ५ बजेसम्म मात्र हुने गरेको छ। भद्रपुर नगरपालिका कार्यालयको स्वास्थ्य शाखा र वडा प्रहरी कार्यालयले संयुक्त रूपमा भद्रपुरमा हेल्थ डेस्क स्थापना गरेर ज्वरो नाप्ने ुथर्मल गनु प्रयोग गरेर सर्वसाधारणको स्वास्थ्य परीक्षण सुरु गरेको छ। हेल्थ डेस्कमा तीन जना प्रहरी र एक जना स्वास्थ्यकर्मी खटाइएको छ।

स्वास्थ्यकर्मी कार्यालय समयसम्म मात्र हुने गरेको सीमामा जोखिम बढेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए। बिहान ६ बजेदेखि राति १० बजेसम्म नाका खुला हुन्छ। बिहान ६ देखि १० र बेलुका ५ देखि राति १० बजेसम्म कुनै स्वास्थ्यकर्मी हेल्थ डेस्कमा नहुँदा भारतबाट आउनेको स्वास्थ्य परीक्षण हुन सकेके छैन। भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले भद्रपुर नाकामा स्वास्थ्यकर्मी जानै डराइरहेको बताए। स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री नहुँदा समस्या भइरहेको बताउँदै उनले भने, ‘यसका लागि नगरपालिकाको स्वास्थ्य शाखामा छलफल भइरहेको छ, अब चाडै सीमामा जनशक्ति थपिनेछ।’

मेची अस्पतालमा आइसोलेसन वार्ड   

कोरोनाबाट बच्न मेची अञ्चल अस्पताल भद्रपुरमा ८ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ। आइसोलेसन वार्डमा सम्पूर्ण स्वास्थ्य उपकरणसहित सामान खरिद गरी अस्पतालले तयारी अवस्थामा राखिसकेको जनाइएको छ। सो आइसोलेसन वार्ड बाहिर सेवाग्राहीलाई आवतजावतमा बन्देज लगाइएको छ। 

आपतकालीन अस्थायी क्वारेन्टाइन निर्माण

सरकारको निर्देशन बमोजिम भद्रपुर १० स्थित कलवलगुढी प्रशिक्षण केन्द्रको भवनमा आपत्कालीन अस्थायी क्वारेन्टाइन बनाउने काम धमाधम भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए। ‘कोरोना सङ्क्रमितको शंका लागेकालाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न प्रशिक्षण केन्द्रमा ३२ बेड क्षमता भएको क्वारेन्टाइन बन्दैछ,’ उनले भने।’ 

यसको लागि भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीसहित गठित समितिले क्वारेन्टाइन बनाउने काममा लागि परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.