|

काठमाडौं : कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न थालेको छ। सबैभन्दा बढी प्रभाव होटल तथा रेष्टुरेन्टमा क्षेत्रमा परेको छ। अधिकांश विदेशी पर्यटक ग्राहक हुने काठमाडौं उपत्यकाका तारे होटल सुनसान बनेका छन्।

कोरोना भाइरस महामारीको रुपमा आएपछि होटल तथा रेष्टुरेन्ट क्षेत्रमा ग्राहकको संख्‍या शून्यप्राय छ। ग्राहक नआउने र व्यापार पनि कम भएसँगै तारे होटलका सञ्चालकले मजदुरहरूले पाउँदै आएको सेवासुविधा पनि कटौती गरेका छन्।

नेपालमा पर्यटकीय दृष्टिकोणले बस्न लायक करिब ३ हजार ३ सय होटल छन्। ती होटलहरूमा ७० देखि ८० हजार मजदुर काम गरिरहेका छन्। होटलमा काम गर्ने मजदुरहरू यतिखेर खाइपाई आएको सेवासुविधा कटौती हो कि भन्‍ने चिन्तामा छन्।

व्यापार नभएको सबैलाई थाहा छ

व्‍यापार खस्केको भन्दै होटल सञ्‍चालकहरूले मजदुरको सेवा सुविधा कटौती गर्ने तयारी गरिरहेको अन्नपूर्ण होटलमा कार्यरत मजदुर महेश जोशी बताउँछन्। अप्ठयारो अवस्था आयो भन्दैमा सञ्‍चालकहरूले मजदुरहरूसँग सल्लाह नै नगरी सेवासुविधा कटौती गर्न नमिल्‍ने उनले बताए।

'व्‍यापार घटेको हामीले पनि बुझेका छौँ'  उनले भने, 'कम सुविधामा पनि हामी काम गर्न तयार छौँ तर हाम्रो रोजगार भने गुम्नुभएन।' सिजनमा काम लगाउने र संकट आउनेबित्तिक्कै मजदुर कटौती गर्न नहुने उनले बताए।

 लाजिम्पाटस्थित होटल र्‍याडिसनका एक कर्मचारीले सञ्‍चालकहरूले खाइपाइ पाएको सेवा सुविधा पनि कटौती गर्न लागेको नाम नलेख्‍ने सर्तमा बताए। व्‍यवस्थापनले बिहानको समयमा खाजा खान दिने व्यवस्था पनि कटौती गरिसकेको उनको भनाइ छ। तलबका लागि व्यवस्थापन पक्षसँग कुरा भइरहे पनि निष्‍कर्ष आइनसकेको उनको भनाइ छ।

व्यवस्थापकले एकतर्फी निर्णय गर्न पाउँदैन

मजदुरहरूको सेवासुविधाको विषयमा सञ्चालकले एकतर्फी ढंगले निर्णय गर्न नहुने नेपाल पर्यटन, होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिक संघका महासचिव बताउँछन्। श्रमिक र सञ्चालकको सहमतिअनुसार नै होटलका मजदुरको माग सम्बोधन गर्नुपर्ने उनले बताए।

थाहाखबरसँग कुरा गर्दै उनले भने, 'मजदुरहरूलाई न्यूनतम तलब दिएर भए पनि राख्नुपर्छ। आवश्यक पर्दा त्यहीँ श्रमिक पुग्ने अहिले सञ्चालकलाई गाह्रो पर्दा श्रमिकले पाएको सेवा सुविधा कटौती गर्न हुँदैन।'

यसका लागि सरकार र सञ्चालक दुवै पक्षले मजदुरको हितमा निर्णय गर्नुपर्न पनि उनले बताए। प्राकृतिक संकट पैदा भएकोले यसमा श्रमिकले पनि जबरजस्त माग नराखेको उनको दाबी छ।

टुंगो लागिसकेको छैन

ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले पोखराको पर्यटन व्यवसाय  टाट पल्टिन लागेको बताए। पर्यटक आउने कुरा त परैको कुरा स्टाफलाई के गर्ने भन्ने समस्या रहेको उनको भनाइ छ।

'यो अवस्थामा होटल रेस्टुरेण्ट, ट्राभलले स्टाफलाई तलब खुवाईराख्‍ने अवस्था छैन। ठ्याक्कै के गर्ने भन्ने त यहाँ टुंगो लागिसकेको छैन,' उनले भने। तर अब अन्य ठाउँमा जस्तै बेतलबी विदा दिने कि भन्ने सोचमा रहेको उनको भनाइ छ।

पोखरा मात्रै हैन देश नै आंशिक लकडाउन भइसकेको व्यापार चलाउने अवस्था नभएको पश्चिमाञ्चल होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विकल तुलाचन बताउँछन्।

'यतिबेला पोखरामा विदेशी भरिभराउ हुने बेला हो,' उनले भने,' यो समय कर्मचारीलाई पनि काम लगाउने अवस्था छैन।' यसबारे छिट्टै निर्णय हुने उनले जानकारी दिए।

स्वेच्छाले काम छाडे

होटल क्षेत्रमा ग्राहकहरूको संख्‍या घटेर व्यापार घटेसँगै कामदारहरू स्वेच्छाले जान थालेको ठमेलस्थित होली हिमालयन होटलका सञ्चालक तथा ट्रेकिङ एशोशिसनका पूर्व-अध्यक्ष ज्योति अधिकारीले बताए।

कामदारहरूलाई व्यवस्थापन पक्षले जबरजस्ती निकालेर नपठाएको उनले दाबी गरे।  काम छोडेर जाने कामदारलाई दिनको एक सय रुपैयाँ दिने गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.