|

काठमाडौं : मुलुकको सबैभन्दा ठूलो, पुरानो र अन्य शहरका तुलनामा अत्याधिक जनसंख्या बसोबास गर्ने काठमाडौं महानगरपालिकालेकोरोना संक्रमणसँग जुध्न आवश्यक पूर्वाधार र संरचना बनाउनुको साटो १० करोड रूपैयाँ राखेर अक्षयकोष स्थापना गरेको छ। 

केन्द्रीय राजधानीभित्र रहेको ठूलो र आर्थिक रुपमा सम्पन्न महानगरपालिकाले काेरोनासँग जुध्न पूर्वाधार तयार गर्नुको साटो नगदी अक्षयकोष खडा गरेको हो। 

महानगरले यो अक्षयकोषको रकम साना, मझौला र ठूला वार्डलाई मिलाएर बाँड्ने जनाएको छ। महामारी फैलिएको बेला पूर्वाधार बनाउनुको साटो कोष खडा गर्ने महानगरको निर्णयप्रति नागरिक र जनप्रतिनिधि नै असन्तुष्ट देखिएका छन्‌। 

'सुरक्षित हुनुपर्छ भनेर सबैलाई थाहा छ, कोष बनाउनुको साटो सो रकम खर्चेर क्वारेन्टाइन बनाउनुपर्थ्यो,' महानगरवासी बागबजारका राजु मानन्धरले भने, 'महानगरभित्र रहेको खाली जग्गामा अस्थायी क्वारेन्टाइन बनाउँदा नगरवासीलाई पनि सहज हुन्थ्यो।' 

महानगरकै अर्का स्थायी वासिन्दा सरोज डङ्गोलले भने,'नि:शुल्क स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाउने र क्वारेन्टाइन बनाउनको लागि तात्नुपर्ने महानगर वडालाई पैसा बाँड्न अक्षयकोष खडा गरेर बसेको छ, मेयर विद्यासुन्दर वरिपरि बस्ने र सल्लाह दिने मानिसहरूले पैसा बाहेक अरू नदेख्ने रहेछन्‌।' क्वारेन्टाइन बनाएको भए काठमाडौंका स्थायी बासिन्दामात्र नभई यहाँ बस्ने देशभरका नागरिकका लागि फाइदा पुग्ने डङ्गोल बताउँछन्‌। 

काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलचाहिँ सरकार र सरोकार निकायवालासँग सहकार्य गरेरर कोरोना भाइरस रोकथामको लागि आफूहरूले काम गरिरहेको बताउँछन्‌। उनी भन्छन्‌, 'सरुवा रोग नियन्त्रण महाशाखा तथा केन्द्र सरकारसँग मिलेर महानगरपालिकाले काम गरिरहेको छ।' 

कोरोनासँग जुध्न भरतपुर महाननगरपालिकाले कोरोना भाइरसबाट सम्भावित संक्रमणसँग जुध्‍न भरतपुरमा ७२ घण्टामै ७० शय्याको अस्थायी अस्पताल बनाइसकेको छ। त्यसैगरी, पोखरा महानगरपालिकाे शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्न चरक मेमोरियल अस्पताल नागढुंगामा २७, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत क्षेत्रीय अस्पतालमा ३ वार्ड तयार गरेको छ। तर केन्द्रीय राजधानीभित्र रहेको ठूलो र आर्थिक रुपमा सम्पन्न काठमाडौं महानगरपालिकाले  चाहिँ काेरोनासँग जुध्न पूर्वाधार तयार गर्नुको साटो नगदी अक्षयकोष खडा गरेको हो।

महानगरवासीको स्वास्थ्यप्रति सचेत रहेको दाबी गर्दै उनले प्रत्येक वडामा २४ घण्टे 'हेल्थ डेस्क' सेवा दिएको बताए। नगरबासीलाई कोरोना भाइरसबाट सुरक्षित राख्न महानगर हरदम तयार रहेको र केही भएमा तत्काल महानगरपालिकाले एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरिसकेको डङ्गोलले जानकारी दिए। 

महानगरलेआफू वरिपरि कसैलाई कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) तथा महानगरको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेको छ । 

काठमाडौं महानगरपालिकाले कोरोना नियन्त्रणका लागि अक्षयकोष खडा गरेपनि अन्य महानगर र नगरपालिकाले भने पूर्वाधार संरचना निर्माणमै जोड दिएका छन्। 

भरतपुर महाननगरपालिकाले कोरोना भाइरसबाट सम्भावित संक्रमणसँग जुध्‍न भरतपुरमा ७२ घण्टामै ७० शय्याको अस्थायी अस्पताल बनाइसकेको छ। सो महानगरले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाएको हो।

ललितपुर महानगरपालिकाले 'मास्क' र 'सेनिटाइजर' उत्पादन थालेको छ भने महानगर परिसरभित्र सेवाग्राहीको शरीरको तापक्रम नाप्दै सेवा दिइरहेको छ।

त्यसैगरी, पोखरा महानगरपालिकाे शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्न चरक मेमोरियल अस्पताल नागढुंगामा २७, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत क्षेत्रीय अस्पतालमा ३ वार्ड तयार गरेको छ।

महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाभित्र रहेका वडाबासीको शरीरको तापक्रम परीक्षण गर्नेदेखि मास्क वितरण, हात धुने सेनिटाइजर उपलब्ध गराई सेवाग्राहीलाई सेवा दिन थालेका छन्‌। 

गत डिसेम्बरमा चीनको उहानमा पहिलोपटक देखिएको कोरोना भाइरसले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ। अथक प्रयासको नतिजास्वरूप चीनमा संक्रमण र ज्यान गुमाउने दर घटिरहेको छ। तर अहिले युरोप र अमेरिका लगायत पश्चिमा मुलुकका नागरिक कोरोनाको शिकार भइरहेका छन्‌।विभिन्न युरोपेली देशमा सङ्क्रमण र मृत्युदरको अङ्क निरन्तर उकालो लागिरहेको छ।

यतिखेर दक्षिण एसियाली मुलुकमा पनि कोरोना संक्रमण फैलिइसकेको छ। यो गम्भीर महामारी रोगको फैलावटले विश्वव्यापी चिन्ता र चुनौतीका रूपमा देखापरेको छ। विश्वव्यापी मानवीय क्षतिका अलावा आर्थिक मन्दीले ढोका ढकढक्याउन थालिसकेको छ।

घातक नोबेल कोरोना भाइरसका सन्दर्भमा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ज्यादा सनसनीपूर्ण भएकाले मानिसमा झन् बढी मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएओ) ले कोरोना भाइरस सङ्क्रमण अर्थात् कोभिड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिँदै उच्च सतर्कता अपनाउन विश्वव्यापी चेतावनी सार्वजनिक गरिसकेको छ।

नेपाल सरकारले पनि यसको रोकथामको लागि विभिन्न सचेतना कार्यक्रम र नागरिकलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिसकेको छ। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललेको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले बिहीबार राति कोरोना रोकथामका लागि विभिन्न १९ वटा निर्णय गरेको छ।

उक्त निर्णयअनुसार अब हवाइ मार्गबाट नेपाल आउने सबैले १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने भएको छ। साथै तेस्रो देशका नागरिकले भारतको भूमि हुँदै नेपाल पस्न नपाउने भएका छन्। नेपाली कामदारका लागि वैदेशिक रोजगारमा जाने श्रम स्वीकृति अनिश्चितकालका लागि रोकिएको छ। पढ्न विदेश जाने विद्यार्थीका लागि अप्रिल ३० सम्म 'नो अब्जेक्सन लेटर' नदिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.