म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा इन्टरलक इँट्टाको माग बढ्दै गइरहेको छ।
बेनी नगरपालिका ७ बेनी बजारका युवा उद्यमी अर्बिन श्रेष्ठले पहिलोपटक यहाँ संचालन गरेको इन्टरलक इँट्टा उद्योगबाट उत्पादित इँट्टाको माग अत्याधिक बढ्दै गइरहेको हो। करिब सात लाखको लगानीमा २०७६ भदौ २० गतेदेखि सञ्चालन भएको उद्योगबाट हालसम्म ४० हजार इँट्टा उत्पादन भई बिक्री भइसकेको छ। कारोबार झण्डै १५ लाख रहेको उद्योग संचालक श्रेष्ठले जानकारी दिए।
बालुवा, सिमेन्ट र माटोको प्रयोगबाट निर्माण गरिने इँट्टा घर निर्माणमा सबै दृष्टिकोणले राम्रो रहेको राष्ट्रिय पुननिर्माण प्रधिकरण आवास पुनर्निर्माण कार्यक्रम म्याग्दीका इन्जिनियर शंकर दासले जानकारी दिए।
इँट्टा उद्योग सञ्चालनका लागि तीनलाख ८० हजार रुपैयाँ मेशिन खरिदमा लागेको र बाँकी ट्रष्ट निर्माणमा गरी करिब सातलाख खर्च भएको सञ्चालक श्रेष्ठले बताए। छिटोछरितो, आकर्षक, भूकम्प प्रतिरोधी र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि इँट्टा निकै उपयोगी रहेको घर निर्माण गर्ने कालीगड बेनी नगरपालिका ५ पुरण्यका यामबहादुर दर्जीले बताए।
इन्टरलक इँट्टाबाट नै एउटै गाउँमा ६ वटा घर निर्माण गरेका कालीगड दर्जीका अनुसार यो इँट्टाबाट घर निर्माण गर्दा प्लास्टर गर्नु नपर्ने, जाडोमा तातो र गर्मीमा चिसो हुने र छिटोछरितो घर निर्माण गर्न सकिने उनको भनाइ छ। उनले इन्टरलक इँट्टाले ६ दिनमा नै घर निर्माण गर्न सकिने जानकारी दिए।
इँट्टा उत्पादन हुनुपूर्व नै माग आउने गरेकाले मागअनुसार पूर्ति गर्न नसकिएको उद्योग संचालक श्रेष्ठले बताए। रातो इँट्टाभन्दा तीन भाग ठूलो इँट्टाको मूल्य प्रतिइँट्टा ५० देखि ५५ सम्म पर्ने बताइएको छ।
सो उद्योगमा अहिले चार जनाले रोजगारी पाएका छन्। अहिले दैनिक ३ सय इँट्टा उत्पादन भइरहेको छ। इँट्टाको गुणस्तर मापन भइसरकारी प्रयोगशालाको प्रतिवेदन प्राप्त भइसकेकाले जिल्लाका स्थानीय तहमा निर्माण हुने भौतिक संरचनामा इँट्टा प्रयोग क्रम बढेर गएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।