|

म्याग्दी : कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै म्याग्दीमा उच्च सतर्कता अपनाइएको छ।

चीनसँग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङको प्रवेशद्वार मानिने म्याग्दी कोरोना भाइरसको उच्च जोखिममा रहेकाले जोखिम निवारणका लागि स्थानीय प्रशासन, नगर तथा गाउँपालिका र समुदायले समेत उच्च सर्तकता अपनाउँदै पूर्वतयारी शुरु गरेको छ।

पूर्वतयारीका लागि म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालयको भवनमा आइसोलेसन अस्पतालका रुपमा संचालन गरिने भएको छ। बेनी नगरपालिका ८ हिलसाइडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयका ३३ कोठामध्ये हाललाई १० वटा कोठामा बेनी अस्पतालले आइसोलेसन बनाउने भएको हो।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको वैठकले विद्यालयमा अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो। शनिबार बेलुकासम्ममा अस्पतालको तयारी हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत हाल खाली अवस्थामा रहेको विद्यालय भवनलाई आइसोलेसन अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय भएको माउन्ट एभरेष्ट अवासीय माविका अध्यक्ष चन्द्रकुमार केसीले बताए।

बेनी नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी अस्पतालका प्रतिनिधि सम्मिलित वैठकले म्याग्दी बहुमुखी क्याम्पसनजिक रहेको एभरेष्ट बोर्डिङ स्कुलको पुरानो भवनलाई मर्मत सम्भार र रङरोगन गरी अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो। अस्पताल भवनको सरसफाई र आवश्यक पूर्वाधार निर्माण गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ।

नेपाली सेनाले शनिबार बेलुकासम्म अस्पताल तयार पार्ने छ। बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले कोभिड १९ भाइरसबाट संक्रमितको आइसोलेसनमा राखेर उपचार गर्न सहज होस् भनेर छुट्टै अस्पताल बनाउन लागिएको बताए। आकस्मिक रुपमा संक्रमण देखा परेमा तत्काल उपचार गर्न सहज होस भनेर अस्पताल विद्यालयमा अस्पताल बनाउन लागिएको डाक्टर घिमिरेले बताए। अस्पतालमा १० शय्याको आइसोलेसन कक्ष हुने छ।

म्याग्दीका सबै तातोपानी कुण्ड बन्द 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक उपचारस्थल मानिएका म्याग्दीका सातवटा तातोपानीका कुण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ। 

शनिबारदेखि म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानीको तातोपानी कुण्ड, धवलागिरी गाउँपालिकाको गुर्जा र मुदीमा रहेका २ वटा तातोपानी कुण्ड, रघुगंगा गाउँपालिकाको दर्मिजामा रहेको तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिकामा रहेका ३ वटा तातोपानी कुण्डहरू अनिश्चितकालका लागि बन्द गरिएको सम्वन्धित नगर र गाउँपालिकाका प्रमुखहरूले जानकारी दिएका छन्।

त्यसैगरी भुरुङ, पाउद्वार,रातोपानी र दोवाको सेकार्कुमा रहेका तातोपानी कुण्डमा पनि विदेशी पर्यटक आउने भएकाले ती तातोपानी कुण्डसमेत बन्द गराउन शुक्रबार नै पत्राचार गरिएको अन्नपूर्ण गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले बताए।

सार्वजनिक कार्यक्रम र मेला पर्व नगर्न निर्देशन

कोरोनाको जोखिमलाई ध्यान दिँदै म्याग्दी प्रशासनले जिल्लामा हुने विभिन्न किसिमका सार्वजनिक कार्यक्रम र मेला-पर्व नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। स्थानीय प्रशासनको निर्देशनअनुसार राजनीतिक दल, विभिन्न जातीय तथा सामाजिक संघ-संस्था, राजनीतिक भातृ संघ-संगठनले पनि आफ्ना घोषित कार्यक्रमलाई स्थगित गरेका छन्। जिल्लाभरका विद्यालय बन्द गरिएको छ। 

देवालय तथा धार्मिकस्थलमा दर्शनार्थीलाई भीडभाड नगर्न आग्रह

म्याग्दीका धार्मिकस्थल तथा देवालयमा आउने दर्शनार्थी र भक्तजनलाई पनि कोरोनाका कारण उच्च सतकर्ता अपनाउन आग्रह गरिएको छ। सकेसम्म देवालयमा समूह बनाएर नआउन र एक अर्काबाट टाढा रही पूजा-अर्चना गर्न अनुरोध गरिएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ।

घोडेपानी, पुनहिल र अन्य पर्यटकीयस्थलमा पनि रोक

विश्वका एकसय भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस हालसम्म नेपालमा नभित्रियाेस् भनी सम्भावित जोखिमलाई ध्यान दिँदै विदेशी पर्यटकको बढी आवागमन हुने पर्यटकीयस्थलमा जान रोक लगाइएको छ।

छिमेकी देश चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना नेपालमा भित्रन नदिन सरकारले उच्च सतर्कताको उपाय अपनाएको अवस्थामा चीनसँग सीमाना जोडिएको मुस्ताङ र मुस्ताङको प्रवेशद्वार म्याग्दीका पर्यटकीयस्थलमा जान पर्यटकलाई रोक लगाइएको हो।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको कार्यालयमा वसेको वैठकले कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्म गाउँपालिकामा पर्ने घोडेपानी, पुनहिलजस्ता पर्यटकीयस्थलमा पर्यटक आवागमनमा समेत रोक लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डमवहादुर पुनका स्वकीय सचिव सुरेन गुरुङले जानकारी दिए।

दशहजार भन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोनाको हालसम्म औषधि पहिचान भएको छैन। तर कोरोनाका बिरामी उपचारपछि निको भएका छन्।

गरिब परिवारलाई साबुन र मास्क वितरण

म्याग्दीको बेनी नगरपालिका ६ का विपन्नका लागि हात धुने साबुन र मास्क वितरण गरिने भएको छ। बेनी नगरपालिका ६ ले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने सावुन र मास्क वितरण सुरु गरेको हो। वडाभित्र रहेका ६५० घरधुरीमध्ये पहिलो चरणमा विपन्न ३३३ घरपरिवारको लागि सावुन र मास्क वितरण सुरु गरिएको हो।

वडा कार्यालयको पहलमा युवा र बाल क्लवका प्रतिनिधिमार्फत बस्तीमा वितरण गरिने साबुन र मास्क शुक्रबार हस्तान्तरण गरिएको छ। वडा अध्यक्ष कृष्णसिंह बानियाँको प्रस्तावमा बेनी ६ छापका युवा व्यवसायी नारायण र उनका भाइ किसान जिसीले छ कार्टुन (एक हजार ४०० पिस) हात धुने साबुन उपलब्ध गराएका हुन्।

यसैगरी छापकै नारायण महतले एक हजार २०० थान मास्क उपलब्ध गराएका छन्। बेनीस्थित वडाको सम्पर्क कार्यालयमा वडा अध्यक्ष बानियाँ, साबुन उपलब्ध गराएका जिसी र वडा सचिव दीर्घप्रसाद गौतमले बाल र युवा क्लवका प्रतिनिधिलाई साबुन र मास्क हस्तान्तरण गरेका हुन्।

'हामीले सरकारले दिएको सन्देशलाई घरघरमा पुर्‍याउनका लागि पनि पहल गरेका हौं। त्यस क्रममा अति विपन्नलाई सहयोग पनि पुगोस भनेर सहयोग जुटाएर सामग्री वितरणलाई जोडेका हौं। स्थानीय युवा क्लब र युवामार्फत घरघरमा पुगेर सामग्री वितरणको व्यवस्थापन गरेका छौं' वडा अध्यक्ष बायिनाँले भने। उनले वडा कार्यालयले थप सहयोग जुटाउने प्रयासरत रहेको र सहयोग जुटेमा बाँकी रहेका सबै घरधुरीमा साबुन र मास्क पुर्‍याइने  पनि जानकारी दिए।

वडा अध्यक्ष बानियाले कोरोना भाइरसको जोखिममा रहेका विपन्न समुदायका घरधुरी पहिचान गरी प्रतिघर चार पिस साबुन तथा परिवार संख्या अनुसार मास्क उपलब्ध गराउने वडा अध्यक्ष बानियाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.