|

झापा : कोरोना भाइरसको उच्च जोखिम रहेको भारतसँग जोडिएको झापाका खुल्ला सीमावर्ती बजारमा भिडभाड नियन्त्रण गर्नुका साथै हाटबजार बन्द गराइने भएको छ।  

सरकारले चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्द गर्ने नेपाल राजपत्रमै प्रकाशन गरेसँगै स्थानीय सरकार र प्रहरी, प्रशासनको संयुक्त पहलले झापा उद्योग वाणिज्य सङ्घसँग समन्वय गरी सीमावर्ती बजारमा भिडभाड नियन्त्रण गर्नुका साथै हाटबजार बन्द गराउन लागेको हो।

विशेष गरी स्थानीय सरकार र प्रहरी प्रशासनले जिल्लाको दुईवटा मुख्य प्रवेशद्वार काँकडभिट्टा र भद्रपुरमा यो अभियान थालेको हो। सीमावर्ती बजार भद्रपुरमा ९आज० शनिवार साप्ताहिक हाटबजार लाग्ने दिन भएकोले वडा प्रहरी कार्यालय भद्रपुरले झापा उद्योग वाणिज्य सङ्घको समन्वयमा बिहानै माइकिङ गरी यहाँका व्यापारीलाई हाटबजार बन्द गरिदिनुहुन अनुरोध गरिसकेको वडाका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।

अर्को सूचना जारी नहुञ्जेलसम्म हाटबजार बन्द गरिदिनुहुन आग्रह गरिसकेको बताउँदै प्रहरी निरीक्षक पुरीले भने, ‘अहिले भद्रपुरमा व्यवसायीहरूले पसल बन्द गर्न थालिसकेको र भिडभाड हुन नदिन बजारमा प्रहरी परिचालन गरिसकेका छौ।’ प्रहरीले हाटबजार बन्द गर्न आग्रह गरे पनि भद्रपुरमा आंशिक मात्र बजार बन्द भएको पाइएको छ ।

यता झापा उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले बजारमा पुगेर कोरोना भाइरसबाट आफू बचाऔँ र परिवारलाई पनि बचाऔँ भन्दै सचेतनामूलक पम्पेल्ट वितरण सुरु गरिएको झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले जानकारी दिए। भिडभाडबाटै कोरोना फैलिने खतरा बढेकोले हाटबजार बन्द गरी सहयोग पुर्याइदिनुहुन उनले व्यवसायीहरूलाई अनुरोधसमेत गरेका छन्।

त्यस्तै, काँकडभिट्टामा पनि बजार बन्द गरी सहयोग पुर्याइदिन हुन मेचीनगर नगरपालिका र मेचीनगर उद्योग वाणिज्य सङ्घको समन्वयमा माइकिङमार्फत व्यवसायीहरूलाई आग्रह गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए। भारतको पानीटंकी बजारसँग जोडिएको काँकडभिट्टामा भिडभाड हुन नदिन सचेतना मूलक अभियान थालिएको उनको भनाई छ।

सरकारकै निर्देशन बमोजिम काँकडभिट्टा सीमा क्षेत्रमा उच्च सतर्कता बढाइसकेको उनले बताए । शुक्रवार जिल्ला समन्वय समिति झापामा बसेको सर्वपक्षीय बैठकले स्थानीय तह र उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा जिल्लामा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरे पनि भद्रपुर र काँकडभिट्टाबाहेक अन्य क्षेत्रमा यो लागु नभएको पाइएको छ ।

भद्रपुर नाकामा कडाइ

भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको भद्रपुर नाकामा आवत जावत गर्ने सर्वसाधारणमाथि वडा प्रहरी कार्यालय भद्रपुरले कडाइ गरेको छ। भारतबाट नेपाल आउने व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइरहेको छ, भने भद्रपुरबाट भारतीय बजारमा किनमेलमा गर्न जाने सर्वसाधारणलाई नाकाबाटै घर फर्काइँदैछ।

अति आवश्यक कामकाज बाहेकका सर्वसाधारण भारत जान नदिइरहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीले बताए। भारतबाट आउने मजदुरलाई समेत रोक लगाइसकेको बताउँदै उनले भने, ‘अहिले दुई जना स्वास्थ्यकर्मीले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म नियमित भारतबाट आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्दैछ।’

कोरोनाविरुद्ध आइतबार भारत सरकारले ‘जनता कफ्र्य’ लगाउने भएपछि शनिबार राति १२ बजेदेखि अर्को आदेश नआउन्जेलसम्म भद्रपुर नाका बन्द गरी सहयोग पुर्याइदिन भारतीय एसएसबीले आग्रह गरिसकेको उनले बताए। भद्रपुरसँग जोडिएको बङ्गाल नाका यसअघि नै बन्द गरिसकेको भए तापनि विहार नाका खुल्ला थियो। अब आइतबार विहार नाका पनि बन्द हुने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.