संखुवासभा : वरिपरी अग्लो र फराकिलो पर्खालले घेरेको, ढोकामा ठूला-ठूला ताल्चा लगाइएको घरमा सयौं मानिसको माझमा उनको नामाकरण भयो।
नाम जुराउने पण्डित उनी जस्तै बन्दी थिए, विभिन्न अपराधमा जीवन बिताउँदै गरेका करिब ११५ जना कैदी, पोष्ट-पोष्टमा बसेका १५ जना जति सुरक्षाकर्मी। त्यसैले होला-उनीहरुले सानी शिशुको नाम जुराए, ‘जेलिसा’।
संखुवासभा जिल्लाको खाँदबारी कारागारमा बन्दी जीवन विताइरहेकी जेलिसाको नामले नै भन्छ, उनी जेल अर्थात हिरासतमा जन्मेकी हुन्। ४८ दिन अघि माघ १५ गते जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा जन्मिएकाले खाँदबारी कारागारका बन्दीहरुले उनलाई ‘जेलिसा’ नाम राखिदिएका छन्।
जातीय संस्कार अनुसारको नाम जुराउने उनको भागमा परेन। हजुरबा, हजुरआमाको न्यानो माया, सेकताप, परिवारका अन्य सदस्यहरुको न्यानो मायालु स्पर्श पनि पाएकी छैनन्। अस्पतालको रेखदेखमा जन्मने अन्य नवजात शिशुलाई सरकारले दिने गरेका न्यानो कपडा पनि जेलिसाले पाएकी छैनन्। विदेशी दाताको सहयोगमा सञ्चालित 'सुनौला हजार दिन' कार्यक्रम पनि उनको हकमा आकाशको फल बन्न पुगेको छ। यस धर्तिमा उनको आगमनलाई यहाँको राज्य व्यवस्थाले यही रूपमा स्वागत गरेको छ।
नेपालको ग्रामीण समाजमा सुत्केरी र शिशुको स्याहारका लागि सम्बन्धित परिवारले पहिलेदेखि नै तयारी गर्छन्। खसी, कुखुराका भाले, घिउ लगायतका पौष्टिक आहारको जोहो हुन्छ। महिलाको घर र माइती दुवैतिर। अझ सरकारले मातृस्वास्थ्य सुरक्षा र पोषणका लागि छुट्टै अनिवार्य व्यवस्था गरेको छ। सुत्केरी हुन अस्पताल जान अभिप्रेरित गर्ने कार्यक्रम छ, कर्मचारी खटाएको छ। तर, ‘जेलिसा’की आमाको भागमा यो सुविधा परेन। सुत्केरी हुँदा घर र माइतीबाट पाइने स्याहार-सुसार र पौष्टिक खानेकुरा, आत्मीयता प्राप्त हुने अवस्थाबाट उनी बञ्चित हुन परेको छ। उनको स्याहारका लागि मिलेको छ त केवल कारागार व्यवस्थापनका तर्फबाट मिल्ने मासिक एक हजार रूपैयाँ सुत्केरी–वृत्ति।
यसको एउटै कारण छ : नेपालको कानुनअनुसार जेलिसाकी आमा सुस्मा विक र बाबु भक्तबहादुर विश्वकर्माले बहुविवाह गर्नु। नौ महिना अघि सभापोखरी गाउँपालिका–६ बस्ने भक्तबहादुर विश्वकर्माले घरमा पत्नी रुमिता विश्वकर्मा हुँदाहुँदै चिचिला गाउँपालिका–५ सुस्मा विश्वकर्मालाई पत्नीका रूपमा भित्र्याएका थिए।
‘जेलिसा’ जन्मदेखि नै काराबासमा छिन्, द्वापर युगका वसुदेव र देवकी पुत्र श्रीकृष्ण कंसको कारागृहमा जन्मे जस्तै। बहुविवाहलाई नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले निषेध गरेको छ। त्यसैले ‘जेलिसा’का बाबुआमा दुवै बहुविवाहको अपराधमा कैद जीवन बिताइरहेका छन्, सँगै छिन् ‘जेलिसा’।
छोराछोरीकी आमा सुस्मा र भक्तबहादुरबीच मायाँ-प्रेम बसेपछि राजीखुशीमा दोस्रो विवाह गरेका हुन्। तर भक्तबहादुरकी जेठी श्रीमती रूमिता विश्वकर्माले आफ्नो श्रीमानले बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेपछि प्रहरीले सुस्मा सुत्केरी हुनु चारदिन अघि माघ १५ गते मात्र दुवैलाई पक्राउ गरेको थियो।
नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४को दफा १७५ को उपदफा (१) मा 'विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुँदैन' भन्ने व्यवस्था गरेको छ भने उपदफा (२) मा 'कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न हुँदैन' भन्ने व्यवस्था गरेको छ। 'यसरी जानाजान बहुविवाह भए गरेमा स्वतः बदर हुनेछ' भनेर उपदफा (५) मा व्यवस्था छ।
‘जेलिसा’का बाबुआमाले गरेको बहुविवाहको अपराधमा जिल्ला अदालत संखुवासभाले सुस्मालाई ७५ हजार र उनको नयाँ श्रीमान भक्तबहादुरलाई २ लाख ३५ हजार रूपैयाँ धरौटी रकम तोकेको थियो। उनीहरुले उक्त धरौटी बापतको रकम तिर्न नसक्दा गएको फागुन १४ गते कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार डिल्ली प्रसाईंले जानकारी दिए।
बहुविवाहको अपराध गरेका सुस्मा र भक्तबहादुरले धरौटी बापतको रकम जम्मा गरे तारिखमा छुट्न सक्ने जिल्ला अदालतले जनाएको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ले बहुविवाह गर्नेलाई एक वर्ष देखि पाँच वर्ष कैद र पाँचहजार देखि ५० हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ। धरौटी बुझाउन नसकेपछि बाबु र आमासँगै ४८ दिने शिशु कारागारमा रहेको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।