|

कञ्चनपुर : कोरोना भाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकी बाहेकका सीमा नाका बन्द गरिएका छन्‌। आवतजावतका लागि प्रयोग हुँदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र पुर्नवास लगायत क्षेत्रका सीमा नाका बन्द गरिएका हुन्‌। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा समन्वय समितिको बैठकले गड्डाचौकी नाका बाहेकका नाकाहरुमा हुने आवागमनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो।

गड्डाचौकी नाकामा गरिने स्वास्थ्य जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, सवारी साधनको आवतजावतलाई तत्काल रोक्ने र नेपाल भित्रिने सबै पैदल यात्रीहरुको विवरण टिपोट गरी थप स्वास्थ्य सल्लाह दिएपछि मात्र नेपाल भित्रन सक्ने व्यवस्था मिलाउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।

बैठकले महाकाली अस्पतालको आइसोलेशन वार्ड तयारी अवस्थामा राख्न र यसका लागि आवश्यक यन्त्र उपकरण तथा स्वास्थ्यकर्मी समेत तयारी हालतमा राख्ने निर्णय गरेको उनले बताए। जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। यसका लागि सबै स्थानीय तहहरुसँग समन्वय गरी स्वास्थ्य कार्यालयले आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरुलाई कुनैपनि स्थानमा खटाउन सकिने निर्णय गरिएको छ।

आपतकालीन अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने र जिल्लाभरका सबै एम्बुलेन्सहरुलाई आलोपालो रुपमा चौबिसै घण्टा तयारी अवस्थामा रहने व्यवस्था स्वास्थ्य कार्यालय कञ्चनपुरले मिलाउने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए। 

बैठकले कोरोना संक्रमण रोकथामको कार्यका लागि गड्डाचौकी नाकासहित अन्य स्थानमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको विवरण र काम गरेको अवधि समेत सम्बन्धित निकायले प्रमाणित गरी हरेक दिन अध्यावधिक गरी राख्ने, आलोपालो पद्धतीमा काममा लगाउने र अभाव हुन नपाउने गरी सबै निकायले योजना साथ जनशक्ति खटाउने निर्णय पनि गरिएको छ।

त्यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित सीएमए छात्रावास भवन र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्न सकिने गरी मर्मत सम्भार गरेर तयारी हालतमा राख्न आवश्यक बजेट व्यवस्थाको लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.