ग्यास र खाद्यान्‍न अभाव हुन नदिने

|

काठमाडौं : बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ।

कोरोना भाइरस (कोभिड-१९) संन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवानासहित ५ वर्ष जेल सजाय हुने बताएको हो। 
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताए। 

‘बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ। कुनै सम्झौता हुन सक्दैन', रिपोर्टर्स क्लबमा उनले भने, 'बदमासी गरेको देख्नुभयो भने तपाईले खवर गर्नुहोस्। त्यसलाई हामी तत्काल कारावही गर्छौँ। कारावही गर्नेमा कुनै शंका नगर्नुहोस्।’

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा मन्त्री भट्टले कोरोना विरुद्ध लड्नुपर्ने बेलामा सबैले गम्भीरताका साथ लिएर एकजुट हुनुपर्ने बताए।  ‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन्', उनले भने, 'यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाइदा उठाउन कालोबजारी गर्न सक्छन्। हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं। कोही कर्मचारी बिदामा नबसी फिल्डमा खटिनुभएको छ।’

सीमानाकाबाट नेपाल आउन नदिने गरी नाका बन्द गर्ने विषयमा भारतसँग कुटनीतिक रुपमा सरकारले कुरा गरिरहेको बताएका छन्। देशमा अघोषित संकटकालको अवस्थामा भोलिको दिनलाई मध्यनजर गर्दै सरकारले पूर्व तयारका सबै कामहरु गरिरहेको बताए।

उनले अहिलेको लडाईं सबैले एकजुट भएर लड्नुपर्ने बताए। ‘सरकारले एकपछि अर्को तयारी गरेको छ। विभिन्‍न मुलुकले कसरी काम गरिरहेका छन् भन्ने कुरापनि हामीले हेरेका छौं। विशेषगरि चीनमा कोरोनाविरुद्ध कसरी लडियो भन्ने कुरापनि हामीले हेरेका छौं', उनले भने, 'भारत पनि कसरी लडिरहेको छ भन्ने पनि हेरिरहेका छौं। युरोप किन लड्न सकेन? यी सबै कुरा हेरेर हामीले एकपछि अर्को तयारी र कदम चालेका छौं।’

उनले अहिले ‘जो जहाँ छौं, त्यहीँ बसेर’ सरकारलाई सहयोग गर्नुपर्ने पनि बताए। उनले आवश्यक पर्दा देशलाई ‘लक डाउन’ गरेर कोरोनाविरुद्ध लड्नुपर्ने अवस्था भएकोले सबै नेपालीले यसलाई आत्मसात् गर्नुपर्ने पनि स्पष्ट पारे। 

‘हिजो भित्रिएको विदेशबाट आएको भीडलाई सरकारले निगरानी गरेको छ। त्यसको कारण पनि खोतल्छौं', भट्टले भने, 'अब त्यसरी भिड आउन नदिन सरकार संवेदशनील छ। सीमा नाकामा खटिएका सुरक्षा निकायसँग समन्वय गरिरहेका छौं।'

उनले अहिले नेपालमा खेतीबारीमा लगाएका उत्पादनहरु भित्रिनेपनि समय रहेको सुनाउँदै खाद्यान्‍न अभाव नहुने स्पष्ट पारे। 'हामीसँग पर्याप्त मात्रामा स्टक छ। साल्ट ट्रेडिङको गोदाममा गएर हेर्नुहोस्', भट्टले थपे, 'नेपाल खाद्यमा पनि हेर्न सक्नुहुन्छ। हामीले सुपथ मुल्यका पसलहरु पनि सञ्चालन गर्दैछौं। ३-४ ठाउँबाट ग्याँस पाउँछ।’

उनले सुरक्षाकर्मीहरु र अस्पतालमा खटिने कर्मचारीहरुको लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए। उनले भने,‘हामीले अत्यावश्यक वस्तुको व्यवस्थापन गरेका छौं।’ उनले हरेक नागरिकले अनुगमन गर्नुपर्ने पनि सुझाव दिए। उनले भने,‘उपभोक्ता ऐन आईसकेको छ। अब सबै नागरिकले कडाईका साथ अनुगमन गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.