प्रचण्ड नातिसँग साइकल कुदाउँदै, माधव नेपाल आफन्‍तसँग भेट्दै

|

काठमाडौँः विश्वभर कोरोना भाइरस (कोभिड–१९)को त्रास छ। नेपालमा अहिलेसम्म भाइरसको संक्रमित देखिएका छैनन्। तर, सरकारले संक्रमण फैलन सक्ने भन्दै सजगता अपनाइरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आंशिक ‘लक डाउन’ घोषणा गरिसकेका छन्‌। कोरोनाको संक्रमण फैलन नदिन सरकारले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान/अवतरण रोकिसकेको छ भने दुवै छिमेकीसँगको सीमा नाका बन्द गरिसकेको छ। शैक्षिक संस्थादेखि लामो दूरीमा चल्ने सार्वजनिक यातायातको आवागमनमा समेत रोक लगाइसकिएको छ। 

कोरोनाको संक्रमणबाट जोगिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पनि ‘होम क्वारेन्टाइन’मा बसेका छन्। पार्टीको निर्धारित कार्यक्रम स्थगन गरेर शीर्ष नेताहरु 'सेल्फ आइसोलेसन'मा बसेका हुन्। 

नेताहरूले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरी भाइरस संक्रमणबाट जोगिन घरमै बसेका हुन्‌। पार्टीभित्र हुने विभिन्न गतिविधिका कारणले भेटघाट र दौडधुपमै व्यस्त रहने नेताहरु यतिबेला आ-आफ्नै घरभित्र सीमित भएका छन्‌।

‘सेल्फ आइसोलेसन’मा रहेका नेताहरुले अत्यावश्यक बाहेकका अन्य भेटघाट बन्द गरिसकेका छन्। नेताहरुले घरमा बस्दा समेत माक्सको प्रयोग गरेर साबुनपानीले हात धुने तथा स्यानिटाइजर प्रयोग गर्ने गरिरहेका छन्। भेटघाट बन्द गरेका भएपनि शीर्ष नेताहरु टेलिफोन वार्तामा सक्रिय भएका छन्।

प्रधानमन्त्रीको सक्रियता उस्तै

तर, प्रधानमन्त्री ओलीले भने आफ्नो स्वास्थ्यलाई निगरानीमा राखेरै भएपनि आफ्नो कामलाई अघि बढाइराखेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

‘प्रधानमन्त्रीज्यूले राजनीतिक भेटघाट घटाउनुभएको छ,’ उनले भने, ‘आइतबार बिहान मात्रै उहाँले राष्ट्रपतिज्यूसँग भेटघाट गर्नुभयो, साँझ मन्त्रीपरिषदको बैठकमा पनि सहभागी हुनुभयो।’

विश्वभर फैलिएको कोरोनाबाट आक्रन्त बनिरहेको बेला प्रधानमन्त्री त्यसको रोकथामका लागि सक्रिय भएको थापाको भनाई छ। उनले थपे, ‘मिर्गौला प्रत्यारोपण गराएर फर्किएको धेरै भएको छैन, तर आफूसँगै जनताको स्वास्थ्य अवस्था स्थिर राख्न उहाँ निरन्तर सक्रिय हुनुभएको हो।' यतिखेर प्रधानमन्त्रीले कोरोना भाइरससँग सम्बन्धित विषयमा छलफल गरिरहेका, तर अन्य भेटघाट भने पूर्ण रूपमा बन्द गरेको थापाले जानकारी दिए।

प्रचण्डले गरे भेटघाट बन्द

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अत्यावश्यक बाहेक भेटघाट बन्द गरेर बसेको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले ‘जुगल’ले जानकारी दिए। 

‘अध्यक्षज्यू, सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ, पछिल्लो समयमा नेता तथा कार्यकर्ता त्यस्तो बाक्लो भेटघाट गर्नुभएको छैन,’ उनले भने, ‘अहिले घरमै विभिन्न पुस्तकहरु अध्यनन गरेर बस्‍नुभएको छ।’
 
‘होम क्वारेन्टाइन’मा रहदाँ अध्यक्ष दाहाल नातीसँग साइकल गुडाउँदै बसेका छन्‌। अध्यक्ष दाहालले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायमा अपील समेत गरेका छन्। पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा प्रचण्डले आग्रह गरेका छन्। 

कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन पहल बढाउन सरकारसँग आग्रह समेत गरेका छन्। 

के गर्दैछन् अरू नेता?

यस्तै, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि केही दिनदेखि ‘होम क्वारेन्टाइन’मा बसेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। ‘कोरोना संक्रमणको त्रासले पछिल्लो समय पार्टीका सबै कार्यक्रम स्थगित भयो, अहिले उहाँ घरमै बसिरहनु भएको छ,’ उनले भने। 

‘घरमा रहँदा नेता नेपालले विभिन्न खालको पत्रपत्रिका र पुस्तक पढ्ने गर्नुभएको छ, आफन्तजनसँग पनि भेटघाट गरिरहनुभएको छ,’ गौतमले भने, ‘तर, राजनीतिक भेटघाट चाहिँ कम गर्नुभएको छ, केही महत्वपूर्ण विषय भएमात्रै भेटघाट गर्नुहुन्छ।’

नेकपाका उपाध्यक्ष बामदेव गौतम पनि ‘सेल्फ क्वारेन्टाइ’मा बसेको उनका स्वकीय सचिव दीपक टमाटाले जानकारी दिए। ‘उहाँ अहिले घरमै बस्नुभएको छ,’ उनले भने, ‘पार्टीको कार्यक्रम स्थगित भएपछि उहाँ घरमै बस्न थाल्नुभएको हो।’

त्यस्तै, नेकपा शीर्ष नेताहरु झलनाथ खनाल, महासचिव बिष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु पनि पार्टीको कार्यक्रम स्थगित भएपछि अत्यावश्यक बाहेकका राजनीतिक भेटघाटलाई छाडेर बसेका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा जलश्रोत मन्त्री बर्षमान पुन मन्त्रालयको काममा व्यस्त भएपनि भेटघाटलाई कम गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.