ह्वात्तै घटे विदेशी पर्यटक

|

काठमाडौं : बौद्धनाथ क्षेत्रविकास समितिले बौद्ध स्तूपमा आउने आन्तरिक र बाह्य पर्यटकलाई बिहार परिसर बाहिर साबुन पानीले हात धोएर मात्र भित्र प्रवेश गराउने भएको छ। विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९)को रोकथामका लागि समितिले आइतबारबाट लागुहुने गरी यस्तो निर्णय गरेको हो। 

सरकारले २५ जनाको समूहभन्दा बढी समूहमा नबस्न समेत आग्रह गरेको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले कोरोना भाइरसको रोकथाम र चेतनाको लागि साबुन पानीले हात धोएर मात्र स्तूपभित्र प्रवेश गराउने बताए।

उनले भने,‘विश्वभर कोरोना भाइरस फैलिदै गएको छ। नेपाल पनि उच्च जोखिममा छ। कोरोना संक्रमणको रोकथामका लागि आज बैंठक बसेका थियौँ। अबदेखी बौद्धस्तूपमा जाने पर्यटकले बाहिरै साबुन पानीले हात धुएर मात्र भित्र पठाउने बैठकबाट निर्णय भएको छ।’ उनका अनुसार बौद्ध बिहारको प्रवेशद्वारमा धारा र साबुन राखिने छ। हात धुन लगाउनको लागि सुरक्षा गार्डहरु खटाइने छ।

हात धोएर सेनीटाइजर प्रयोग गरेपछि मात्र आन्तरिक र बाह्य पर्यटक बिहार भित्र जान पाउने छन। मास्कहरु वितरण गर्ने योजना  पनि बनाएको बताउँदै उनले कोरोनाबाट  कसरी बच्ने भन्ने बारेमा पनि सर्वसाधारणलाई चेतना दिने बताए। सरकारले धेरै भिडभाडमा नजान सर्वसाधारणलाई आग्रह गरेपनि बौद्ध बिहारमा विहान र बेलुकाको समयमा बढी भिडभाड हुने गरेको छ।

अब बौद्ध स्तूप अवलोकनगर्न एकपटकमा कति जना सम्म जानदिने भन्ने विषयमा अहिले केही निर्णय नभएको उनको भनाई छ। ‘दिन प्रतिदिन मान्छे घट्दै गएका छन,’उनले भने,‘एक दुइदिन सम्म मान्छेहरुको अवस्था हेर्छाैँ। समस्या आइपरेको खण्डमा मान्छे कम प्रवेश गराउँछौँ।’ 

ह्वात्तै घट्यो बाह्य पर्यटक

विश्वव्यापी फैलिएको कोरोना भाइरसले गर्दा बौद्धमा बाह्य पर्यटक ह्वात्तै  घटेका छन्। अहिले बौद्धमा विदेशी पर्यटकहरुको त्यत्ति चहलपहल छैन। बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार अहिले दैनिक चार/पाँच जनामात्रै विदेशी पर्यटक बौद्धमा आउने गरेका छन। कोरोना भाइरसको हल्ला नफैलिँदा मासिक १० हजार विदेशी पर्यटकले बौद्ध स्तुपमा अवलोकन गर्ने गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.