|

भद्रपुर : कोरोना संक्रमण फैलिन नदिन सरकारले जारी गरेको निर्देशन र छिमेकी राष्ट्र भारतमा आइतबार लगाइएको ‘जनता कर्फ्यु’ को प्रभाव झापा जिल्लामा पनि परेको छ।

जिल्लाका सीमा नाकादेखि बजार हुँदै सरकारी कार्यालय सुनसान बनेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्‍वानमा स्वस्‍फूर्त भारतमा ‘जनता कर्फ्यु’ लागेपछि जिल्लाको काँकडभिट्टा, भद्रपुर, केचना, कुमरखोद र गौरीगञ्ज नाका सुनसान बनेका हुन्।

भारतले नेपालका सुरक्षाकर्मीसँगको सहकार्यमा आज (आइतबार) एकदिन सीमा नाका ठप्प पारेपछि नेपाल र भारत दुवैतर्फका सीमा नाका सुनसान भएका हुन्। नाकाबाट कसैलाई प्रवेश गर्न दिइएको छैन। सीमा ठप्प हुँदा जिल्ला र भारतीय सीमा बजारमा समेत यसको प्रभाव परेको छ।

भारतीय सीमावर्ती बजार सबै बन्द छ। जिल्लाका सीमावर्ती बजार भने यसका आंशिक प्रभाव परेको छ। बजारमा भिडभाड र चहलपहल घटेको देखिन्छ। सीमा नाका ठप्प हुँदा भारतसहित तेस्रो मुलुक अध्ययन र रोजगारीमा जाने नेपाली नागरिक भारतमै अलपत्र परेको जनाइएको छ।

भारतको जनता कार्फ्युले जिल्लाका सबै सीमा नाका ठप्प भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘अति आवश्यक कामकाजबाहेक नेपाली नागरिकलाई भारत नजान अनुरोध गरिरहेका छौँ।’

सरकारी कार्यालय परिसर सुनसान

सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गर्न निर्देशन जारी गरिसकेको छ।

सरकारको सोही निर्देशनबमोजिम जिल्लामा सेवाग्राहीको भीड हुने सबै सरकारी कार्यालयहरू बन्द छन्। कार्यालयहरू बन्द हुँदा जिल्लाको सदरमुकाम सुनसान बनेको छ। जिल्लामा नापी, मालपोत, सिँचाई, प्रशासन, घरेलु, अदालत, राजस्‍व, वन लगायतका कार्यालयहरू बन्द गरिएको जनाइएको छ।

ती कार्यालयहरूमा कर्मचारी रहेका छन्। सेवाग्राहीको काम बन्द भए पनि कार्यालयमा हाजिरदेखि अन्य आन्तरिक कामकाज कार्यालयभित्र भइरहेको भूमिसुधार तथा मालपोत कार्यालय झापाका सूचना अधिकारी दीपेन्द्र खत्रीले जानकारी दिए।  

 

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.