|
फाइल तस्बिर

काठमाडौं : कोरोना भाइरसले जटिलता निम्ताएको मौकामा मनलाग्दी हवाई भाडा असुलेका कम्पनीहरुले अन्तत: अधिकतम् सीमा घटाएका छन्। 

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको ‘एक्सन’सँगै वायुसेवा सञ्चालकहरुले अधिकतम् भाडाको सीमालाई घटाएका हुन्।

काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टराईले शनिबार वायुसेवा सञ्चालकलाई बोलाएर तत्काल भाडादर पुनर्विचार गर्न भनेका थिए।

मन्त्रीको आग्रहलगत्तै बुद्ध एयरले अधिकतम् भाडाको सीमालाई घटाएको थियो। यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई भएकोले भाडाको सीमा घटाइएको बुद्धले जनाएको छ ।

यसैगरी यति एयरलाइन्सले पनि भाडा दर घटाएको छ। यतिले भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगन्ज र पोखराको लागि निर्धारित टिकटको माथिल्लो दर घटाएको हो । 

यो दर लामो दूरीका सवारी साधन सञ्चालनमा नआएसम्म कायम रहने यतिले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, वायु सेवा सञ्चालक संघ र जनताहरुको अनुरोधमा भाडा घटाएको यतिले जनाएको छ।

श्री एयरलाइन्सले यसअघि नै भाडाको सीमा घटाइसकेको छ। सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरिसकेको छ। 

शनिबार मन्त्रालयमा वायुसेवा सञ्चालकहरुलाई बोलाएर मन्त्री भट्टाईले आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम् सीमाका २ वटा ‘स्लयाब’ का भाडा हटाई त्यसभन्दा कमको भाडादरलाई अधिकतम् सीमा कायम गर्न भनेका थिए। 

उनले न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्न पनि अनुरोध गरेका थिए । हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने सामाजिक उत्तरदायीत्वबारे पनि सञ्चालकहरुलाई सम्झाएका थिए।

मन्त्रीको अनुरोधपछि आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाएका थिए। मन्त्रीको अनुरोधलाई वायुसेवा सञ्चालकहरुले सकारात्मक रुपमा लिएर भाडा दर घटाएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.