|

पर्सा  :  कोभिड १९ को संक्रमणको आशंका गरिएका वीरगन्जका एक व्यापारीको पटनामा उपचार भइरहेको छ। पटनास्थित पीएमसीएच अस्पतालमा ६७ वर्षीया व्यापारी  शिवकुमार रुंगटाको उपचार भइरहेको वीरगंज नगरपालिका मेयर विजय सरावगीले जानकारी दिएका छन्। 

भारतको दिल्लीबाट केही दिनअघि मात्र वीरगन्ज आइपुगेका रुंगटा बिरामी भएपछि थप उपचारका लागि पटना लगिएको थियो। उनको ¥याल ( पीसीआर ) को रिपोर्ट आउन बाँकी छ भनिएको छ। सो रिपोर्ट आएपछि मात्र ग्यारेन्टीका साथ बताउन सकिने मेयर सरावगीले बताए। ‘म लगातार उहाँको परिवारका सदस्यसँग सम्पर्कमा छु। पटनामा उहाँ भर्ना गरिएको अस्पतालले कोभिड भाइरसको आशंका गरेछ भनेको छ। तर सोमबार ¥यालको रिपोर्ट आएपछि मात्र ग्यारेन्टी भन्न सकिने हुन्छ’, नगर प्रमुख सरावगीले भने। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले बताएको मेयर सरावगीले जानकारी दिए। 

यो विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतसँग बुझ्दा कोरोना भएको भन्ने हल्ला सुनेको बताए। ‘हामी पनि बुझिरहेका छौं, पुष्टि हुने रिपोर्ट पाइनसकेकोले ग्यारेन्टी भन्न सकिएन,’ उनले भने। ‘किड्नीको बिरामीसमेत भएका रुंगटामा कोरोना भाइरस भएको नै हो भने हुन्छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधवलाल राजपालले भने। 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले पनि शिवकुमार रुंगटालाई कोरोना भएको बताए। ‘रुंगटाजी भारतको केही स्थानबाट भर्खरै आएको बुझिएको छ। त्यसलगत्तै बिरामी परेर थप चेकजाँचको लागि पहिले वीरगन्जकै एक हस्पिटल र पछि पटना जाँदा त्यहाँको अस्पतालले कोरोना भएको आशंका गरेको छ,’ उनले भने।  थप पुष्टिका लागि महाराष्ट्रको पुनेमा रहेको अर्को हस्पिटलमा रिपोर्ट चेकको लागि पठाइएको परिवारका सदस्यले बताएका छन्। सोमबार (भोलि) रुंगटाको सबै रिपोर्ट आउने बताइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.