व्यवसायी भन्छन्- यस्तो हो भने हातमुख कसरी जोर्नु?’

|

इलाम : पर्यटकहरुले सधैं भरिभराउ हुने कन्याम केही दिन यता सुनसान झैं भएको छ। दिनहुँ दुई हजारभन्दा बढी पर्यटक पुग्ने कन्याममा अहिले मुस्किलले १० देखि २० जना मात्र पर्यटक देखिन्छन्।

मेची राजमार्ग दायाबाया ठेलामा राखिएको पसलहरु बन्द छन्। देशका अन्य पर्यटकीय गन्तव्यलाई कोरोना भाइरसको त्रासले गाँजे झैं कन्याम पनि अछुतो रहेन। दिनुहँ पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने व्यापारीहरु बोहोनीकै पर्खाइमा दिन काट्दै छन्। नगरपालिकालाई ठेला सञ्चालन गरे बापत महिनामा बुझाउनुपर्ने ९००रुपैयाँ पनि संकलन गर्न समस्या हुने उनीहरुको दुखेसो छ।

‘केही दिन यता व्यपार घट्यो। साँझ पर्न लाग्यो बोनीसम्म गर्न पाइएको छैन। यसो बोनी गरिदिनुस् न फिक्कलसम्म जानुपर्छ,’ कन्याम छिटपुट आउने आन्तरिक पर्यटकहरुलाई व्यवसायी निर्मला राई भन्दै थिइन्। विगत केही दिनदेखि निर्मलाको दैनिक फिक्कलबाट कन्याम गएर दिनभर पसल रुग्न मात्रै हुने गरेको छ। ‘खै यो कोरोला कि कोरोना के आएको छ रे व्यापार सुक्को छैन। नगरलाई मासिक रुपमा ठेला सञ्चालन गरे बापत ९०० रुपैयाँ बुझाउनुपर्छ। त्योसम्म कमाइएलाजस्तो छैन,’ उनले दुखेसो पोख्दै भनिन्, ‘पसल नआए पनि त हुँदैन। छाक त टार्ने परो, नगरलाई पनि दिनै परो।’ 

कन्याममा अधिकांश व्यपारीको गुनासो निर्मलााको जस्तै छ। मेची राजमार्ग आसपासको कन्याम चिया बगान क्षेत्रमा ५० भन्दा बढी व्यावसायिक ट्रली–ठेला छन्। अहिले तीमध्ये १५÷२० वटा मात्र व्यावसाय सञ्चालनमा छन्। चैत अफ सिजन भए पनि कन्याममा यसअघि कहिले पनि पर्यटकको चाप घटेको थिएन। तर, कोरोनाको त्रासपछि आन्तरिक पर्यटक समेत कन्याम आएका छैन। जसको मारमा साना व्यवसायी र घोडचढी व्यवसायमा परेको छ। 

विभिन्न जातीय पोशाकमा हरियो चिया बगानभित्र सेल्फी खिच्नेहरुको दृश्य कन्याममा विरलै देखिन्छ। पर्यटकको चाप घटेसँगै दैनिक पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने पूजा तामाङको काम पसल रुग्नु र पोशाक मिलाउनुमै बित्ने गरेको छ। ‘खै आकलझुकल आउँछन्। आज त बोनी मात्र गरियो। यस्तै क्रम लामो समयसम्म चल्यो भने खानाको जोहो कसरी गर्नु?’ आगन्तुकलाई गुनासो सुनाउँदै थिइन् उनी। 

कन्यामको अर्को आकर्षण घोडचढी पनि हो। फुर्वा तामाङ दैनिक जसो पर्यटकहरुलाई मेची राजमार्गले चिरेको सुन्दर कन्यामको चिया बगानमा पर्यटकहरुलाई घोडामा राखेर डुलाउँथे। तर, पछिल्लो समय पर्यटक नपाएपछि बोनी गर्ने आशमै उनको दिन पनि बित्ने गरेको छ।

कन्याममा दैनिक ३५ जना घोडचढी व्यवसायीको चुलो घोडामा पर्यटक डुलाएर हुने आम्दानीबाट बल्थ्यो। कोरोना त्रास बढेपछि उनीहरु अहिले चिया बगान आसपास गफ गरेर नै दिन बिताउने गरेका छन्। कोरोनाका कारण अहिले ३–४ जना व्यवसायी मात्र घोडा लिएर कन्याम आउँछन्। 

‘बोनी गर्न पाए पनि कस्तो हुन्थ्यो जस्तो लागेको छ,’ व्यवसायी फुर्वा भन्छन्, ‘पर्यटक डुलाउन भ्याइनभ्याइ हुन्थ्यो, अहिले त कस्तो कस्तो अचम्म लागेको छ। यस्तो हो भने हातमुख कसरी जोर्नु?’

डिभिजन सडक कार्यालयले मेची राजमार्गको क्षेत्र विस्तार सुरु गरेसँगै कन्याम क्षेत्र हिलाम्मे हुन सुरु गरेको छ। पानी छिट्याउने बित्तिकै राजमार्गमा हिलो भएर सडक नै अवरुद्ध हुने गरेको छ। पर्यटकको चाप उच्च हुँदा पनि जाम नहुने कन्याममा सडक विस्तारले हिलाम्मे भएपछि समस्या भएको स्थानीय दुर्गा खड्का बताउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.