|

कञ्चनपुर : कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमण न्यूनीकरण र रोकथामका लागि कञ्चनपुरका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवा आइतबारदेखि बन्द गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख भएअनुसार गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त निर्देशनअनुसार विद्युत, खानेपानी, स्वास्थ्य, सञ्चार र दैनिक उपभोग्य वस्तुलगायतका अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक सेवा प्रवाह रोकिएको छ। 

सूचना जारी गरी उल्लेखित अत्यावश्यक सेवा बाहेक अन्य सेवा रोकिएको उनले बताए। मानिसको आवागमन एवम्‌ अनावश्यक भीडभाड कम गर्न सेवा रोकिएको सूचनामा उल्लेख छ। यसैगरी कञ्चनपुरका स्थानीय तहले कार्यालय प्रवेशद्वारमै साबुनपानीले हात धुने व्यवस्था गरेका छन्‌। 

कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्थानीय तहले साबुनपानीले हात धुने व्यवस्था गरेका हुन्‌। भारतबाट यात्रुहरु आउने क्रम बढेपछि कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि पूर्व सावधानी अपनाइएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए।

'सेवाग्राही र कर्मचारीलाई साबुनपानीले हात धुने र मास्क लगाएर मात्रै कार्यालय प्रवेश गर्न दिएका छौं,' उनले भने, ‘प्रधानमन्त्रीको सम्बोधन अनुसार आजदेखि अत्यावश्यक बाहेक अन्य कार्यालय बन्द गरेका छौं।’

भीमदत्त नगरपालिकाका वडा नं १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेयले वडा कार्यालयमै साबुनपानीले सेवाग्राही र कर्मचारीका लागि हात धुने व्यवस्था गरिएको बताए।

स्थानीय तहहरुले सरसफाई र स्वास्थ्य सेवा बाहेका अन्य सेवा सेवाहरु बन्द गरेका छन्‌। कार्यालयका सबै सेवाहरु बन्द गरिएको छ। काम लिएर सेवाग्राही कार्यालयमा पुग्ने क्रम संगै भिडभाड हुने भएकाले कार्यालयका सेवा बन्द गरिएको बताइएको छ।

हात धुने बारे सेचतना फैलाउने, क्वारेण्टाईनमा बस्नका लागि आव्हान गरिनुका साथै स्थानीय संघसंस्थाले मास्क वितरण गर्ने कार्यलाई निरन्तरता दिएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.