|
फाइल तस्बिर

मकवानपुर : मकवानपुरको हेटौंडास्थित हेटौंडा एकेडेमीले २०० जनालाई क्‍वारेन्टाइन गर्न मिल्ने गरी विद्यालय भवन उपलब्ध गराएको छ।  

'कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि क्वारेन्टाइन प्रारम्भिक उपायमध्येको भएकाले हेटौंडा एकेडेमीको भवन उपलब्ध गराएका हौं', विद्यालयका सञ्चालक अरुणराज सुमार्गीले भने, 'मापदण्ड अनुरुप सरसफाई गरेर क्वारेन्टाइन कक्ष तयार पारेका छौं।'

प्रदेश विपद व्यवस्थापन समितिले क्वारेन्टाइन कक्षहरूको अनुगमन गरिसकेको जानकारी दिँदै उनले चुरे हिल अस्पतालसँगको सहकार्यमा हेल्थ डेस्कसमेत तयार पार्न लागिएको जानकारी दिए। हेल्थ डेस्कले ज्वरोलगायतका लक्षण देखिए नदेखिएको परीक्षण गर्नेछ। 

बागमती प्रदेशको राजधानी हेटौंडामा थप ३०० वटा आइसोलेसन कक्ष बनाउने कार्य भइरहेको छ। वन विज्ञान अध्ययन संस्थानमा १००, गौरीटार खेलकुद एकेडेमीमा १०० र सशस्त्र प्रहरी क्याम्प कर्रामा १०० शय्याको क्वारेन्टाइन बनाउन लागिएको हो।

कोरोना भाइरसको सम्भावित संक्रमण व्यवस्थापन गर्न प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत पाँच करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश ढुंगेलले बताए। अन्य अत्यावश्यक मेडिकल औजार तथा उपकरणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको ढुंगेलले जानकारी दिए।

नेपाली सेनाले यसअगावै हेटौंडाको सुपारेटार ब्यारेकमा ३० वटा आइसोलेसन कक्ष तयार पारिसकेको छ। सामरी पुलनजिकै टेन्टको प्रयोग गरी आइसोलेसन कक्ष बनाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.