सर्लाही : भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाका ‘सिल’ गरिएको छ। भारतको सोनवर्षा तथा सीतामाढी जाने नाका सोमबार बिहानदेखि सुनसान बनेको छ। अत्यावश्यक सामान ढुवानीबाहेक अन्य आवतजावतमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।
सोमबार १० बजेबाट भारतीय सीमासँग जोडिएका १५ वटै नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विश्वमणि पोखरेलले बताए। १५ वटा नाकामध्ये हिजो आइतबारदेखि स्थानीय प्रशासनले दुई वटा नाका भएर मात्र आवतजावत गर्न अनुमति दिएको थियो। सदरमुकामस्थित मलंगवा तथा पश्चिमी बलरा नगरपालिकाको लक्ष्मीपुर नाका खुलाइएको थियो। तर सोमबारबाट भने ती दुई नाका पनि सिल गरिएको छ।
सोमबारबाट लामो दूरीका सार्वजनिक यातायात नचल्दा पूर्वपश्चिम मार्ग पनि सुनसानजस्तै देखिएको छ। जिल्लाका २० वटै स्थानीय तहले शैक्षिक संस्था, हाटबजार, सिनेमा घर, भीडभाड हुने ठाउँमा सूचना निकालेर बन्द गरेको छ। जिल्लाका मलंगवा, लालबन्दी, हरिवन, बरहथवा, बयलवास, लगायतका बजार सुनसान बनेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।