|

सुर्खेत : कोरोना भाइरस त्रासका कारण कर्णाली राजमार्ग रातको समयमा बन्द गरिने भएको छ। राति ८ बजेदेखि बिहान पाँच बजेसम्म राजमार्गमा आउजाउ गर्ने सवारी बन्द गर्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राजमार्गमा हेल्थ डेस्क स्थापनासँगै राति सवारी नचलाउने निर्णय गरेको हो। 

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कामका लागि भारत गएकादेखि देशभर रहेका स्थानीयको घर फर्किन घुइँचो लागेकाले कोरोनाको संक्रमणसँगै सवारी दुर्घटनाको जोखिम बढेपछि राजमार्ग बन्द गर्ने निर्णय गरिएको बताए। कर्णाली राजमार्ग निश्चित समयमा मात्रै सञ्चालन गर्ने र राजमार्गबाट आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य परीक्षणका लागि जिल्लाका नौ वटै स्थानीय तहबाट एक-एक जना स्वास्थ्यकर्मीलाई काजमा जिल्ला बोलाइएको छ। यस समयमा स्वास्थ्यकर्मीको बसोबास तथा खानपानका लागि सबै स्थानीय तहले सहयोग गर्ने निर्णय गरेका छन्। 

नौजना स्वास्थ्यकर्मीसहित ११ जना प्रहरीको टोली सोमबारदेखि कोरोना भाइरस र हेल्थ डेस्क व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरेर मंगलबारबाट काममा खटाउने तयारी छ। 

जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतका अनुसार अस्पतालमा पनि प्रतिकार्य टोलीका लागि एमडिजिपी डाक्टर विज्ञान प्रजापतिको नेतृत्वमा नौ सदस्यको टोली तयार पारिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.