आजैबाट 'होम क्‍वारेन्टाइन'मा राखिँदै

|
प्रतीकात्मक स्केच

बागलुङ : कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एकजना युवक काठमाडौं हुँदै बागलुङसम्म पुगेको खुलेको छ। चैत ४ मा काठमाडौं ओर्लिएर एकरात यहाँ बसेपछि बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ।

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रमाम ती युवक बागलुङमा भेटिएका हुन्।

उनी काठमाडौंबाट बागलुङ पुगेर पनि क्वारेन्टाइनमा नबसी मनलाग्दी घुमिरहेको भेटिएका हुन्। सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ। 

बागलुङ ढोरपाटन नगरपालिकाका ती युवालाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको छ। 

परिवार र स्थानीय जनप्रतिनिधिले दिएको जानकारीअनुसार उनलाई घरमै क्‍वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको हो। त्यसका लागि ढोरपाटनका नगरप्रमुख देवकुमार नेपालीमार्फत आग्रह गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले जानकारी दिए। 

फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजेटिभ देखा परेपछि उनीसँगै आएका ती युवाको पनि खोजी सुरु भएको थियो। ढोरपाटन नगरपालिकाले खोजी गर्दा ती युवा घरमै रहेको पाइएको छ। 

‘उनको विषयमा जानकारी लिएर हामी घरमै जाँदै छौं’, ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले टेलिफोनमा भने, ‘कुनै लक्षण नदेखिएकाले घरमै अलग्गै बस्न आग्रह गर्ने चिकित्सकको सल्लाह छ।’ 

नगरप्रमुख, वडाध्यक्ष र स्वास्थ्यकर्मीसहितको टोली उनको घरमा मंगलवार बिहान (अहिले) जाँदै छन्। ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलिपल्ट गृहजिल्ला बागलुङ आएका थिए। 

अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन्। उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर सार्वजानिक भएपछि गाउँले भयभीत छन्।

‘मैले जिल्लामा पनि कुराकानी गरेको छु भयभीत हुने अवस्था होइन’, डा. मल्लले भने, ‘उहाँमा कुनै पनि लक्षण देखापरेको छैन, सामान्य लक्षण देखा परेमा स्वाब जाँचका लागि काठमाडौं पठाउँछौं।’ 

स्वाब जाँच गर्नुपर्ने अवस्था आए जिल्लाकै टोलीले नमुना संकलन गर्ने मल्लले बताए। ‘विदेशबाट आएका ती युवा गाउँमै रहेको सूचना आएको छ, यो अवधिमा उनले कतिसँग हात मिलाए, भेटघाट गरे। यो जोखिमपूर्ण विषय हो’, मेयर नेपालीले भने, ‘त्यसैले त्यहाँ पुगेर सबै विवरण लिएपछि आवश्यक प्रकृया थाल्छौं।’

उनीसँगै आएकी काठमाडौंकी संक्रमित किशोरीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.