|

बैतडी : कोरोनाको सम्भावित संक्रमण फैलिन नदिन बैतडीका स्थानीय तहहरुले धमाधम हेल्थ डेस्क स्थापना गरेका छन्। विभिन्न स्थानीय तहमा गरी १६ स्थानमा हेल्थ डेस्क स्थापना गरिएका छन्। 

दशरथचन्द नगरपालिकाले सीमा नाका झुलाघाटमा गत फागुन १० देखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ। डिलाशैनी गाउँपालिकाले दुई ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ। डिलाशैनीको गोकुलेश्वर र गन्नामा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले जानकारी दिए। 

यस्तै, दोगडाकेदार गाउँपालिकाले पनि सिल्लेगडा र बिट्कममा हेल्थ डेस्क स्थापना गरेको छ। सुर्नया गाउँपालिकाले सतबाँझ, मोतीनगर र ढोल्यामोडमा हेल्थ डेस्क स्थापना गरेको छ। यस्तै, पुर्चौंडी नगरपालिकाले ढोल्यामोड, हाट बसपार्क, साँफेबजार, कुवाकोट र तल्लादेहीमा गरी पाँच ठाउँमा हेल्थ डेस्क स्थापना गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए।

पाटन नगरपालिकाले पनि पाटन, खोड्पे र अनारखोलीमा हेल्थ डेस्क स्थापना गरेको छन्। अन्य स्थानीय तहहरुले पनि हेल्थ डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिएका छन्। हेल्थ डेस्क स्थापना गरे पनि जाँच गर्ने उपकरणको भने अभाव रहेको छ। समान्य थर्मोमिटरले जाँच गर्नुपर्ने अवस्था रहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। डेस्कमा बस्ने स्वास्थ्यकर्मीहरुसँग सुरक्षित पोशाक नभएको बताएका छन्।

नेविसंघको सचेतना अभियान

नेपाल विद्यार्थी संघ बैतडीले कोरोनो भाइरसविरुद्ध सचेतना अभियान गरेको छ। जिल्लाका विभिन्न स्थानमा पुगेर कोरोनाबाट बच्ने उपायलगायत जानकारी दिइएको संघ बैतडीका अध्यक्ष कपील केसीले बताए। 

संघले पाटन चौराहमा ५०० लिटर क्षमताको पानी ट्यांकी र साबुनको व्यवस्था गरिएको केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.