भेन्टिलेटर र अत्यावश्यक सामग्री जुटाइँदै

|

रुपन्देहीः विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना संक्रमण जोखिममा रहेका सबै देशहरूलाई जतिसक्दो धेरैको कोरोना परीक्षणका लागि अपिल गरिरहेको छ। डब्ल्युएचओका अधिकारीहरूले भनिरहेका छन्‌, ‘सबै देशहरूका लागि हामीसँग एउटा सन्देश छ-टेस्ट, टेस्ट, टेस्ट!’ 

संगठनका प्रमुख टेड्रोस अधानमले यो केही दिन पहिले भनेका थिए। संगठनका अनुसार भारतमा ज्यामितीय हिसाबमा फैलिरहेको कोरोना संक्रमणका कारण नेपाल पनि संक्रमणको उच्च जोखिममा छ।

नेपालको प्रदेश ५ का ६ जिल्ला भारतको उत्तर प्रदेशसँग जोडिएका छन्। आइतबार सरकारले एक साताका लागि सीमा नाका बन्द गर्नुअगावै प्रदेशका मूख्य नाकाबाट १ लाख भन्दा धेरै भारतीय र नेपाली यहाँ भित्रिसकेका छन्। 

आइतबारको तथ्यांकलाई हेर्दा प्रदेशभर स्थापना गरिएका 'हेल्थ-डेस्क'मार्फत् नेपाल छिर्ने र फर्कने एकलाख ३६ हजार २८८ जनाको ज्वरो नापिएको थियो।

तीमध्ये उच्च ज्वरो देखिएका भारतीयलाई नेपाल छिर्न दिइएन भने नेपालीलाई ''क्वारेन्टाइन''मा राखिएको छ। स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले सयौं जनालाई 'क्वारेन्टाइन'मा राखिएको बताए।  

'क्वारेन्टाइन'मा राखिएकालाई परीक्षण नगरि लक्षणकै आधारमा कोरोना संक्रमण भए/नभएको अनुमान गरेर घर फर्काउने वा थप उपचार गर्ने गरिएको छ। कपिलवस्तुको महेन्द्र आधारभूत विद्यालयमा बनाइएको 'क्वारेन्टाइन'मा राखिएका दुई जनालाई ६ दिनपछि मंगलबार घर फर्काइएको छ।

६ दिनसम्मको निरन्तर जाँच र स्वास्थ्य परीक्षणबाट उनीहरूमा कोरोना भाइरस संक्रमणका थप लक्षण नभेटिएपछि घर गएर आफैं 'क्वारेन्टाइन'मा बस्न आग्रह गरिएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संदिग्धलाई मात्रै कोरोना परीक्षण गर्नु झन् ठूलो जोखिम मोल्नु हो। किनभने संक्रमितमा पहिलो लक्षण देखिन मात्रै पनि १४ दिनसम्म लाग्न सक्छ। जसलाई 'इन्कुवेसन पिरियड' भनिन्छ। कतिपय शोधकर्ताले कोरोनाको 'इन्कुवेसन पिरियड' २४ घण्टासम्म हुने दाबी गरेका छन्‌। 

पहिलो लक्षण देखिन धेरै समय लाग्ने भएकाले सीमा नाका र विमानस्थलमा गरिएको ‘स्क्रिनिङ’ ले संक्रमणको वास्तविक अवस्था थाहा पाउन कठीन छ। लुम्बिनी प्रादेशिक अस्पतालका एक फिजिसियन डाक्टर भन्छन्, ‘कोही दुईदिनदेखि मात्रै संक्रमित भएको हुन सक्छ, तर स्क्रिनिङमा ज्वरो देखिन्न, उसलाई कोरोना छैन भन्न मिल्छ र?’

'इन्कुवेशन पिरियड'कै कारण देखाउँदैं विश्व स्वास्थ्य संगठनले सबै देशहरूलाई जतिसक्दो छिटो धेरै जनाको कोरोना ‘टेस्ट’ गर्न आग्रह गरेको कुरा बुझ्न गाह्रो छैन। 

प्रदेशमा किन भइरहेको छैन चाहे जति परीक्षण? 

कोरोना संदिग्ध व्यक्तिको परीक्षणका लागि तोकिएका प्रदेश ५ का १९ वटा निजी तथा सरकारी अस्पताल र बुटवलको अस्थायी ''आइसोलेटेड'' अस्पतालबाट हालसम्म २८ जनाको मात्रै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। तीमध्ये १३ जनामा कोरोना नभएको पुष्टि भइसकेको छ। बाँकीको 'रिपोर्ट' आउन बाँकी छ। 

प्रदेशमा शनिबारसम्म 'भिटिएम' अर्थात् भाइरसलाई ल्याबसम्म पुर्‍याउने माध्यम दुईवटा मात्रै थियो। 'स्वाब' लिने काम जनस्वास्थ्य कार्यालय बुटवलले मात्रै गर्थ्यो भने काठमाडौंसम्म लैजाने काम विश्व स्वास्थ्य संगठनको थियो।

यतिसम्म कि, जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा ‘स्वाब कलेक्सन’ का लागि 'भिटिएम' र स्वास्थ्यकर्मीसँग सुरक्षण उपकरण नहुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना संदिग्धको 'स्वाब' काठमाडौं पठाउन सकिएन।

बुटवलबाट दुई दिनपछि गएको अर्को टोलीले 'स्वाब' नमूना जम्मा गरी काठमाडौं पठाएको थियो। आइतबार थप २० वटा 'भिटिएम' आएको स्वास्थ्य निर्देशनालयले बताएपनि स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षण उपकरण (पिपिई) भने २५ वटा मात्रै छ। यसले गर्दा 'क्वारेन्टाइन'मा रहेका सबै जना र उनीहरूको सम्पर्कमा आएका सबैको 'स्वाब' काठमाडौं पुर्‍याउन नै सम्भव छैन।

अर्कोतर्फ हाल नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना परीक्षण हुने भएकाले विश्व स्वास्थ्य संगठनले भनेजस्तो सबैको स्वास्थ्य परीक्षण गर्न असम्भव देखिएको छ। अपर्याप्त स्रोत र उपकरणको अस्त्र प्रयोग गरी कोरोना महामारीलाई नियन्त्रण गर्नुपर्ने ठूलो चुनौतीका बीच प्रदेश सरकार छ।

सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख उमाशंकर चौधरी स्रोतको अभावमा कोरोना संदिग्धलाई मात्रै परीक्षण गर्ने उपाय अवलम्बन गरेको बताउँछन्। उनी भन्छन्‌, ‘भाग्यवश हालसम्म परीक्षण गरिएका सबैमा कोरोना नेगेटिभ रिजल्ट आएको छ, त्यसैले गर्दा सबैको परीक्षण गर्नुपर्ने बाध्यकारी स्थिति आएको छैन।’

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट राजेन्द्र खनालले 'टेस्टिङ किट'को अभाव भएकाले संक्रमण फैलिएका राष्ट्रबाट आएका र 'क्वारेन्टाइन'मा रहेका सबैजनाको कोरोना परीक्षण सम्भव नरहेको बताए। ‘तर, कसैलाई कोरोना संक्रमण देखिइहालेमा संक्रमितसँग सम्पर्कमा आएका सबैजनाको कोरोना परीक्षण गर्नुपर्ने हुन्छ’ उनले भने।

स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले थप कोरोना 'टेस्टिङ किट' उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए। तर, यति नै दिनभित्र उपकरणको जोहो हुन्छ भनेर प्रदेश सरकार नै आश्वस्त देखिएको छैन।

महामारी फैलिएमा 'भेन्टिलेटर'ले पुग्ला?  

कोरोना भाइरसले फोक्सोमा संक्रमण गर्ने भएकाले संक्रमितले सजिलै सास फेर्न सक्दैनन्। सजिलोसँग बुझ्दा त्यस्तो बेलामा बिरामीलाई सजिलै अक्सिजन दिन ''भेन्टिलेटर''को प्रयोग गरिन्छ।

चीनमा भएको संक्रमणका क्रममा गरिएका धेरै अध्ययनले ८० प्रतिशत संक्रमित बिना कुनै जोखिम निको हुने गरेको देखाएको छ। त्यस्तै १५ प्रतिशतलाई सामान्य अक्सिजन आपूर्ति र बाँकी ५ प्रतिशतलाई 'भेन्टिलेटर' नै प्रयोग गरेर अक्सिजन आपूर्ति गर्नुपर्ने हुन्छ। तर, प्रदेशमा हाल 'भेन्टिलेटर'सहितका ७५ 'आइसियु' शय्या उपलब्ध छ। त्यो बाहेक बुटवलको धागो कारखानामा बनाइएको अस्थायी ''आइसोलेटेड'' अस्पतालमा दुई वटा 'भेन्टिलेटर'सहितको 'आइसियु' शय्या बनाउने योजना छ। तर, नेपालमा 'भेन्टिलेटर' नबन्ने र हाल कोरोनाको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको 'भेन्टिलेटर'को अभावका कारण तत्काल त्यसको व्यवस्थापन गर्न हम्मे-हम्मे छ।

युरोप र इटालीमा पनि संक्रमण फैलिरहेका कारण बिरामी थेग्न त्यहाँका 'भेन्टिलेटर' उत्पादक कम्पनीहरूले ४० प्रतिशतसम्म उत्पादन बढाएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहँदा छिमेकी भारतमा 'भेन्टिलेटर'को हाहाकार मच्चिरहेको छ। 

'आइसोलेटेड' अस्पतालमा चिकित्सकीय र प्राविधिक व्यवस्थापन गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनाल कोही दातृ निकाय अथवा केन्द्र सरकारलाई व्यवस्थापनका लागि आग्रह गरिने बताउँछन्। 

प्रदेशमा उपलब्ध 'भेन्टिलेटर'ले कोरोनाको सुरुवाती संक्रमितलाई केही दिनको उपचारका लागि थेग्ने देखिए पनि पछि संक्रमितको संख्या बढ्दै गएमा 'भेन्टिलेटर'को अभाव हुने निश्चित रहेको चिकित्सकहरू बताउँछन्। ‘बेलैमा 'भेन्टिलेटर'को व्यवस्थापन निकै आवश्यक मानिएको छ, तर किन्ने ठाउँ पनि छैन, नेपालमा बन्दैन’ प्रादेशिक अस्पतालकै एक बरिष्ठ चिकित्सक बताउँछन्।

'भेन्टिलेटर' बाहेक स्वास्थ्य कर्मीलाई आवश्यक सुरक्षण किट तथा अन्य उपकरणको व्यवस्थापन तत्काल गर्नुपर्ने देखिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले संघीय सरकार तथा आफैँले पनि दातृ निकाय तथा निजी क्षेत्रहरूसँग समन्वय गरेर त्यस्ता उपकरणको जोहो गरिरहेको बताइएको छ।

कार्यालयका अनुसार यो हप्ताभित्रै स्वास्थ्यकर्मीका लागि अत्यावश्यक मानिएको सुरक्षण उपकरण ल्याउने तैयारी भइरहेको छ। 

ध्यान 'आइसोलेटेड' अस्पतालमा 

हाललाई भने प्रदेश सरकारले कोरोना संदिग्धलाई पहिचान गरी कोरोना परीक्षण र उपचारका लागि प्रदेशभर ४ वटा 'आइसोलेटेड' अस्पतालको निर्माण गरिरहेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालमा समेत 'आइसोलेटेड' अस्पताल निर्माण गर्ने निर्णय गरेपछि अव प्रदेशमा कुल ५ वटा 'आइसोलेटेड' अस्पताल बन्ने भएका हुन्। 

ती मध्ये बुटवलको धागो कारखानामा बुटवल उपमहानगरपालिकाले ४० शय्यको अस्थायी 'आइसोलेटेड' अस्पताल निर्माण गरिसकेको छ। भैरहवाको भिम अस्पतालमा ४० शय्या, केन्द्रीय आर्युवेद विद्यापीठ बेलझुण्डी दाङमा १०० शय्या र सुशिल कोइराला क्यान्सर अस्पताल बाँकेमा ३० शय्याको 'आइसोलेटेड' अस्पताल निर्माणका क्रममा रहेका छन् भने लुम्बिनी प्रादेशिक अस्पतालमा समेत 'आइसोलेटेड' अस्पतालको निर्माण गर्ने सोमबारको बैठकले निर्णय गरेको हो। 

अस्पतालहरूको जिम्मा प्रदेशका मन्त्रीहरूको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ। समितिलाई अस्पतालको सञ्चालन कार्ययोजना बनाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको सूची तयार गरी जनशक्ति व्यवस्थापन गर्ने र अस्पताल सञ्चालनका क्रममा आवश्यक निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरूसँग आवश्यक सहयोग प्राप्त गर्ने जस्ता कामको जिम्मेवारी दिइएको छ। 

हाललाई अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्य सचिव कार्यरत रहेको कार्यालयमा नियमानुसार खर्च गर्ने गरी एक करोड रुपैयाँका दरले उपलब्ध गराइएको छ। 

अन्य तयारी कस्तो? 

यसबाहेक प्रदेश सरकारले १० करोड रुपैयाँ रहने गरी नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाएको छ। जसमा मुख्यमन्त्री र सबै मन्त्रीहरूले एक महिनाको तलब जम्मा गर्नेछन्। त्यस्तै उक्त कोषमा प्रदेश सभा प्रदेश ५ का सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक दिने भएका छन्। नेकपाका प्रदेश सांसदले पनि १५ दिनको तलव कोषमा राख्ने घोषणाा गरेका थिए। 

तथ्यांकमा यस्तो देखिन्छ प्रदेशको तयारीः 

–१० करोडको कोष स्थापना 
–१९ वटा अस्पतालमा ११० शय्याको आइसोलेसन कक्ष तैयार    
–बुटवलमा २, भैरहवा, खजुरा र बेलझुण्डीमा १–१ 'आइसोलेटेड' अस्पताल 
–भन्टिलेटरसहितका ७५ शय्या आइयु उपलब्ध 
–२५ व्यक्तिगत सुरक्षण किट (पिपिई) उपलब्ध 
–२२ भिटिएम (परीक्षणका लागि भाइरस लैजाने माध्यम) उपलब्ध 

कुल स्क्रिनिङः १ लाख ६९ हजार ६९१ जना 
कोरोना संदिग्धः २८ जना
परीक्षणको लागि पठाइएका : २८ जना 
केरोना नेगेटिभः १३ जना 
प्रक्रियामाः १५ जना 
कोरोना पोजिटिभः श"न्य 

(यो समाचार सोमबारसम्मको तथ्यांकका आधारमा तयार पारिएको हो।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.