|

बागलुङ : सरकारले घोषणा गरेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न सर्वसाधारणले अटेर गरेपछि यसलाई प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन गरिएको छ।

जिल्ला सुरक्षा समितिको बैठकपछि बागलुङका प्रमुख जिल्ला अधिकारी गैलोचन सैंजुले मंगलबार आदेश जारी गर्दै सेना परिचालन गरेका हुन्। आदेशमा निषेधाज्ञा जारी गरिएकाले त्यसलाई प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालित हुन अनुरोध गरिएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरी सोही ऐनको दफाको ६ को उपदफा २ बमोजिम नेपाली सेनाको अर्जुनबाण गण घोडाबाँधे ब्यारेकलाई परिचालित हुन अनुरोध गरिएको छ।

अर्जुनबाण गणका गणपति मिलनध्वज खाँडले आफुहरु प्रजिअको आदेशअनुसार नै परिचालित भएको बताए। ऐनको दफा (२) मा ‘आफ्नोअधिकार क्षेत्रभित्रको कुनै ठाउँमा गम्भीर अशान्ति भएको छ वा हुने सम्भावना छ र सो ठाउँमा भैरहेको शान्ति रोक्न वा अशान्ति हुन नदिन अन्य प्रहरीको मद्दतबाट मात्र सम्भव छैन भन्ने प्रमुख जिल्ला अधिकारीलाई लागेमा यस सम्बन्धी कारण तथा आधार खुलाई निजले स्थानीय वा नजिकको सशस्त्र प्रहरी वा अवस्थाअनुसार नेपाली सेनाको मद्दत माग्न सक्नेछ।

त्यसरी सशस्त्र प्रहरी वा नेपाली सेनाको मद्दत मागेकोमा क्षेत्रीय प्रशासक र गृह मन्त्रालयलाई चौबीस घण्टाभित्र सबैभन्दा छिटो साधनद्वारा त्यसको सूचना दिनु पर्नेछ’ व्यवस्था गरिएको छ। त्यस्तै, दफा (३) मा ‘कसैले कुनै काम गर्न लाग्दा वा कहीं केही वस्तु रहँदा वा कसैले राख्दा हुलदंगा भई शान्ति सुरक्षा भंग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले देहाय बमोजिमको आदेश दिन सक्नेछ र सो आदेश एक पटकमा दुई महिनाभन्दा बढी अवधिको हुने छैन।

(क) कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने, (ख) कुनै वस्तु वा सम्पत्तिको मालिक वा व्यवस्थापक वा प्रमुखलाई सो वस्तु वा सम्पत्ति सो ठाउँबाट हटाउन आदेश दिने वा सो ठाउँमा कुनै काम गर्न निषेध गर्ने।

३, (क) कुनै ठाउँमा हुलदंगा वा अशान्ति भएमा वा हुन सक्ने पर्याप्त आधार भएमा सो परिस्थितिलाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारीले क्षेत्र र समय तोकी सो क्षेत्र र समयमा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गर्न सक्नेछ। त्यस्तो आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँचसय रूपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ’ उल्लेख छ। 

मंगलबार देशभर लकडाउन भए पनि बागलुङमा त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि निषेधाज्ञा जारी गर्ने र सेना परिचालनको तहमा प्रशासन पुगेको हो। सर्वसाधारणले लकडाउन उल्लंघन गरेपछि जिल्ला सुरक्षा समितिको बैठकमा त्यसको समीक्षा भएको थियो।

बैठकलगत्तै प्रजिअ सैंजुले ९ बुँदे आदेश जारी गरेका हुन्। आदेशको ९ नं. वुँदामा निषेधाज्ञा र सेना परिचालनको आदेश छ। मंगलबार सर्वसाधारण सडकमा हिडिरहे भने बाइक, जीप र साना गाडी पनि फाटफुट रुपमा चलेका थिए। 

आदेशमा औषधिउपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट ननिस्कने, यिनै कार्य गर्ने सवारी साधनवाहेका सवै सवारी साधनमा पूर्ण रोक लगाउनेलगायतका केन्द्रीय सरकारले जारी गरेका आदेशहरूका विषयवस्तु नै समावेश गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.