|

उदयपुर : उदयपुरमा 'लकडाउन' अवज्ञा गरी चलाइएका ४६२ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोनाभाइरस (कोभिड(१९)को संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि देशभर 'लकडाउन' घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटले 'लकडाउन' अवज्ञा गरी चलाइएका ठूला तथा साना गाडीहरू १२३ वटा, मोटरसाइकल ३३२ वटा स्कुटर, ४ वटा  अटो  र ४ वटा साइकल नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। लकडाउन'बारे जानकारी नहुँदा हिजो (मंगलबार) कतिपय मानिसले जानकारी नपाएर सवारीसाधन चलाएको हुनसक्ने र आवश्यक अनुसन्धान गरी आपराधिक गतिविधिमा संलग्न बाहेकका सवारीसाधन सम्बन्धित धनीलाई नै बुझाइने एसपी मगरले जानकारी दिए। 

जिल्लामा आजदेखि 'लकडाउन'को अवज्ञा गरी कुनै पनि सवारी साधन चलाएमा कानुनबमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिएको छ। हिजो 'लकडाउन' शुरू भएसँगै प्रहरीले बिहान केही समय रोकेर सवारीधनीहरूलाई साधन नचलाउन आग्रह समेत गरेको थियो। साथै, 'लकडाउन' बारे जानकारी दिन माइकिङ समेत गरेको थियो।

त्यसपछि पनि सञ्चालनमा आएका सवारी साधनहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गाईघाटको पिपलचौक, मुख्यचौक, टेम्पोचौक, बसपार्क क्षेत्रबाट धेरैजसो सवारी साधन नियन्त्रणमा लिइएको हो।

लकडाउन' गर्ने सरकारी निर्णयलाई कार्यान्वयन गर्दै कोरोनाबाट संक्रमित नहुन र अरू कसैलाई संक्रमित हुन नदिन प्रहरीले सबैसँग आग्रह गरेको छ। जिल्लाको सुरक्षाव्यवस्था समेत कडाइ गरिएको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.