एक हजार क्षमताको क्वारेन्टाइन निमार्ण गर्ने

|

लमजुङ : कोरोना भाइरसको सम्भावित संक्रमणलाई नियन्त्रण गर्न बेसीशहर नगरपालिकाले एक करोड रुपैयाँ छुट्याएको छ। मंगलवार बसेको नगरपालिकाको कार्यपालिकाको बैठकवाट कोरोना संक्रमण रोकथामको  आवश्यक तयारी र बन्दोवस्त मिलाउन आन्तरिक कोषबाट एक करोड रुपैयाँ विनियोजन गरिएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले जानकारी दिए। 

यस्तै, एक हजार क्षमतको क्वारेन्टाइन निमार्ण गर्ने पनि निर्णय गरेको छ। क्वारेन्टाइन  निमार्णका लागि जिल्ला समन्वय समितिको सभाहल, वडाभित्रका माध्यमिक तथा आधारभुत विद्यालयलाई प्रयोग गरिने उपप्रमुख लक्ष्मीदेवी अधिकारीले बताइन्। बैठकले नगरपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक तथा अन्य कर्मचारी लगायत कोरोना रोकथाम तथा नियन्त्रणका सिलसिलामा अग्रपंक्तिमा खटिने क्रममा जोखिममा परी अंगभंग एवं मृत्यु भएमा वार्षिक रुपमा दश लाख रुपैयाँ सहयोग वा क्षतिपुर्ति उपलब्ध गराउने निर्णय भएको छ।

कोरोना संक्रमितलाई बेसीशहर नगरपालिकाबाहेकका अन्य अस्पतालमा रिफर गरी लैजानु परे नगरपालिकाको एम्बुलेन्सबाट निःशुल्क सेवा दिने प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताए। नगरपालिकाभित्रका अन्य बिरामीको हकमा स्वास्थ्य कार्यलयबाट तोकिएको शुल्क लिई सेवा दिइने भएको छ। कोरोना नियन्त्रणमा खटिएका कर्मचारीहरुलाई खाना, खाजा र भत्ता उपलव्ध गराइने नगरपालिकाले निर्णय गरेको छ।

यस्तै, नगरवासी सबैमा लकडाउनको निर्णयलाई पुर्ण पालना गर्न आह्वान गरिएको छ।  उक्त नियम नगरवासीले पालन गरे नगरेको अनुगमन गर्न सम्बन्धित वडा कार्यलयलाई जिम्मवारी दिइएको  छ ।   

त्यस्तै, कोरोनाका आशंका भई एम्बुलेन्स आवश्यक परेमा नगरपालिकाको एम्बुलेन्स  चालक राजु गुभाजुको मोबाईल नम्बर ९८४६९००४५९ वा सम्बन्धित निकायलाई सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.