|

कञ्चनपुर : कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँचपाँच बेडका आइसोलेसन कक्ष स्थापना गरेको छ। 

नगरपालिका १० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा नं ४ को राष्ट्रिय माध्यमिक विद्यालयमा आइसोलेसन कक्ष निर्माण गरेको हो। आइसोलेसन कक्षका लागि आवश्यक सामग्री खरिदमा जनप्रतिनिधिको सेवा सुविधाबाट कटौती हुने गरी २० लाख बजेट परिचालन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए।

'आज साँझसम्म आवश्यक सामग्री खरिद गरी आइसोलेसन कक्षमा राखिसक्छौं' उनले भने, 'कक्षका लागि स्वास्थ्यकर्मीको दुई वटा टोली तयारी अवस्थामा रहेको छ।' उनले आइसोलेसन कक्षको व्यवस्थापनका लागि कार्यान्वयन टोली समेत छुट्टै गठन गरिएको बताए। 

भारतमा कारोना भाइरसको महामारी फैलिएपछि होटल, बजार, उद्योग बन्द भएसँगै त्यसमा कार्यरत नेपाली धमाधम घर फर्किन थालेकाले जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन कक्ष तयार गरिएको उनको भनाई रहेको छ।

'भारतबाट फर्केकालाई घरमै क्वारेन्टाइनमा बस्न भनेका छौं' उनले भने, 'कोरोनाका लक्षण देखा परे तत्कालै एम्बुलेन्समार्फत आइसोलेसन कक्षमा ल्याएर उपचार गर्ने व्यवस्था गरिएको छ।' यसैबीच नेपाल रेडक्रस सोसाइटी उप शाखाले समेत नगरपालिकाका ठाउँ ठाउँमा पुगेर कोरोनाका लक्षण, कोरोना सर्ने तरिका र यसबाट बच्ने उपायकाबारे स्थानीयका घर घरमा पुगेर सचेत गराउने कार्य समेत गरिरहेको छ। 

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुने तरिकाबारे स्थानीय बासिन्दालाई बताउँदै आएको उप शाखाका सभापति शेरबहादुर साउदले बताए। 'भारतबाट आएकालाई समेत १४ दिन घरमै क्वारेन्टाइन बस्न भनेका छौं' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.