|

काठमाडौं : सरकारले एक साताका लागि मुलुक लकडाउन गरेको दोस्रो दिन आज पनि देश सुनसान छ। काठमाडौंमा अत्यावश्यक बाहेकका सवारी सञ्‍चालन भएका छैनन्।

बिहान दूध, तरकारी लगायतका अतिआवश्यक वस्तु खरिदका लागि सवारी सञ्‍चालन भएको देखिए पनि दिउँसो सडक सुनसान छ। सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। अत्यावश्यक र पास लिएका बाहेकका सवारीलाई चल्न दिइएको छैन।

कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको आदेश उल्लंघन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो।

अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। सरकारले नागरिककै हितका लागि लकडाउन गरेको भन्दै यसलाई तोडेर बहादुरी नदेखाउन प्रहरीले आग्रह गरेको छ।

अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए। हिजो मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.