|

काठमाडौं : नोभल कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले हवाई उडान र सीमानाका बन्द गरेपछि सर्वोच्च अदालतमा रिट परेको छ। नेपालीलाई घर फर्कन नपाउने गरी सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट परेको हो। 

अधिवक्ताद्वय माधव बस्नेत र मीना बस्नेतले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। यसको पुष्टि सर्वोच्च अदालतका सह-प्रवक्ता देवेन्द्र ढकालले गरेका छन्। 

सरकारले विपद्को बेलामा आफ्ना नागरिकको उद्धार र उपचारल गर्नुपर्नेमा देश आउन खोज्नेलाई पनि रोकेको भन्दै रिट हालिएको हो। रिटमा वैधरूपमा नागरिकलाई देशमा आउन असहज बनाएको जिकिर गरिएको छ। यो रोकले विदेशका नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन भएको रिटमा उल्लेख छ। सरकारको यो कदमलाई रिटमा पाशविक व्यवहार भनिएको छ। 

रिटमा देशभर नागरिकलाई क्वारेन्टाइनमा राख्ने स्थान तयार भएका, होटल, संघ-संस्था र नागरिकस्तरबाट सरकारलाई सहयोग जुटिरहँदा विदेशका नेपालीलाई त्यहीँ ज्यान जोखिममा राखेर बस्न बाध्य बनाइएको दाबी गरिएको छ।

अधिवक्ताद्वयले नेपाल आउनेलाई प्रवेश निषेध नगर्ने आदेश दिन सर्वोच्चसँग माग गरिएको छ। सोमबार परेको रिटको सुनुवाइ हुने-नहुने केही टुंगो छैन। कोरोनाको त्रासका कारण सर्वोच्चसहित सबै अदालत बन्द रहेकाले रिट अघि बढ्ने नबढ्ने टुंगो नभएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.