|

भद्रपुर : विदेशबाट मेरो गाउँघरमा मान्छे आएको छ भन्दै समाजमा हल्ला फैलाउँदै आतंकित बनाउने काम तत्काल बन्द गर्न झापा प्रहरीले जिल्लावासीलाई अनुरोध गरेका छन्। स्थानीयले गाउँमा ठूलै अपराध गरेको मान्छे आए जस्तो गरेर आत्तिएर प्रहरीलाई फोन आउन थालेपछि प्रहरीलाई यसले झन् समस्यामा पारेको छ।

 फ्रान्सबाट नेपाल आएकी एक किशोरीमा कोरोना पोजेटिभ देखिएको छ। त्यही कारणले अहिले गाउँघरमा विदेशबाट आएका मान्छे देख्नेबित्तिकै छरछिमेकले त्रास फैलाउने काम गरिरहेकोले त्यस्ता कार्य तत्काल बन्द गर्न प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले सबै समक्ष आग्रह गरेका छन्। 

‘अहिले अन्य घटनाको विषयमा फोन आउन छाडियो। अहिले गाउँमा विदेशबाट नयाँ मान्छे आयो भनेर फोन आउँछ,’ एसपी कोइरालाले भने, 'प्रहरीलाई आत्तिएर फोन गर्नुपर्ने कारण नै छैन। प्रहरीलाई जानकारी गराए पुग्छ। बरु विदेशबाट आएका मान्छेलाई कसरी सुरक्षित राख्नुपर्ने हो। त्यस विषयमा स्वास्थ्यकर्मीसँग सल्लाह गरे पुगी हाल्छ।' 

‘त्यसपछि ती व्यक्तिलाई घरमै सेल्फ क्वारेन्टाइनमा राख्ने हो कि स्थानीय तहले बनाएको अस्थायी क्वारेन्टाइनमा राख्ने हो। यस्तो संकटको अवस्थामा गाउँघरमै छलफल गरेर निष्कृश पुग्नु पर्छ,’ उनले भने । 

सरकारले चैत १८ गतेसम्म लकडाउन घोषणा गरिसकेकोले प्रत्येक नागरिक सरकारको निर्देशनको पालनासँगै आफ्नो स्वास्थ्य सुरक्षाको निम्ति घरमै बसिदिनुहुन उनले अनुरोध समेत गरेका छन्।      

विदेशबाट आउनेको लगत संकलन

जिल्ला प्रहरी कार्यालय झापाले विदेशबाट आएका नागरिकको लगत संलकन कार्य सुरु गरेको छ। भारतको खुल्ला सीमा नाकासँग जोडिएको झापा जिल्ला कोरोना भाइरसको सङ्क्रमण भित्रिने उच्च जोखिममा रहेकोले त्यसलाई फैलिन नदिन जिल्लाका सबै प्रहरी कार्यालयहरूले आआफ्नो स्थानीय तहमा लगत संकलन थालेको हो ।

विदेशबाट आएका नेपाली नागरिकमा कोरोनाको सङ्क्रमण हुने जोखिमलाई मध्यनजर गरी प्रहरीले समनयता अपनाएर उनीहरूको तथ्यांक संलकन थालेको प्रहरी कार्यालय झापाका एसपी कोइरालाले बताए।  ‘झापा प्रहरीले वैदेशिक रोजगारी वा अध्ययनबाट फर्किएकाहरूको विवरण संलकन थालेको हो,’ उनले भने, ‘लगत संलकन अभियानका लागि पूर्व प्रहरीहरू पनि परिचालित गरेका छौं।’

अहिलेसम्म प्रहरीले विदेशबाट फर्किएर घर आएका ९१ जनाको तथ्यांक संलकन गरिसकेको उनले बताए। उनीहरूमध्ये शंकास्पद अवस्थाका पाँच जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.