|

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेसँगै काठमाडौं महानगरले सरसफाइको कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ।

संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि एक साताका लागि ‘लकडाउन’को निर्देशनको पूर्ण पालना गर्दै महानगरले सरसफाइको कामलाई तीव्रता दिएको हो।

आजबाट सडक पानीट्याङ्की र ब्रुमरमार्फत सरसफाइ गर्ने कामलाई तीव्रता दिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए। उनले ‘लकडाउन’ को समयमा सडकमा फोहोर हुने अवस्था आएमा कोरोना भाइसरको संक्रमण अझ छिटो फैलिन सक्ने भएकाले त्यसको न्यूनीकरणका लागि सरसफाइको कामलाई तीव्रता दिएको बताए।

उनले सकेसम्म व्यवस्थापन गर्न सकिने फोहोरलाई घर–घरमै व्यवस्थापन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। बाँकी फोहोरलाई भने ‘लकडाउन’ का समयमा पनि सकेसम्म व्यवस्थापन गर्न महानरपालिका लागिपरेको उनले बताए।

महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा पानीट्याङ्कीबाट पानी हालेर र ब्रुमरको प्रयोगबाट सरसफाइको काम निरन्तर रुपमा अघि बढेको उनको भनाइ छ।

समस्या आइपरे जनप्रतिनिधिलाई फोन गर्नुस्

 महानगरले ‘लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि जनप्रतिनिधिहरूलाई सिधा सम्पर्क आग्रह गरेको छ।

प्रमुख शाक्‍यले भने, 'महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सबै जनप्रतिनिधिहरूका फोन नम्बरहरू सार्वजनिक गरेका छौँ। कोरोना संक्रमणको आशंका भएमा तत्काल जनप्रतिनिधिहरूलाई सम्पर्क गर्नुहोला।'

शंकास्पद बिरामीलाई अस्पतालसम्म लैजानका लागि महानगरपालिकाले एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखेको छ।

काठमाडौं महानगरको टोल फ्री नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ। कोरोना संक्रमणको आशंका भएमा टोल फ्री नम्बर ११८० तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खबर दिने तथा सूचना दिन पनि महानगरले अनुरोध गरेको छ।

 त्यस्तै, सरसफाइको कामलाई टोली नै बनाएर तीव्ररुपमा अघि बढाइएको नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले बताए। ‘बालाजु, नयाँ बजार, लैनचौर, दरबारमार्ग, बल्खु, कुलेश्वर, कालीमाटी, नयाँ बानेश्वरलगायत क्षेत्रका सडकमा ब्रुमरबाट तीव्र सरसफाई गर्ने थालेका छौँ' उनले भने।

उनले लकडाउन अवधिभर सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारीविरुद्धको अभियानलाई सहयोग गर्न माइकिङ तथा जनचेतनामूलक कार्यक्रम सुरु गरिएको जानकारी दिए। महानगरपालिकाकाले ३२ वटै वडामा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.