|

बर्दिया : बर्दियामा भारतका विभिन्न स्थानबाट फर्किएका ५१ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको छ। मंगलबार राति र बुधबार विहान भारतका विभिन्न स्थानबाट आएका ५१ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

भारतबाट आउँदै गर्दा नाकामा अलपत्र परेका बर्दियावासीलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको हो। बर्दियाको मूर्तिया, पश्चिमको गौरीफंटा नाकाबाट नेपाल भित्रिएका बर्दियाबासीलाई सदरमुकाम गुलरिया, ठाकुरबाबा, मधुवन र बारबर्दिया नगरपालिकाको क्वारेन्टाइनमा राखिएको जनाइएको छ। 

बर्दियाको सदमुकाम गुलरियामा २ जनालाई अत्याधिक ज्वरो आएपछि आइसोलेसन वार्डमा राखिएको थियो। ज्वरो घटेपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको प्रजिअ लामिछानेले बताए। यस्तै देशका विभिन्न स्थानबाट आएका झण्डै ३५ जनाको ज्वरो मापन गरि घरमा पठाइएको छ।

उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताए। नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेसँगै बर्दियामा बाहिर निस्कन नदिन कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी राजेशनाथ बास्तोलाले  बताए। धेरै उल्लंघन गरेको पाइएमा थप कडाइ गरिने उनको भनाई छ।

विश्वभर कोरोना भाइरस (कोभिड १९) को त्रास नेपालमा पनि बढेसँगै बर्दियामा अहिले उच्च सतर्कता अपनाइएको छ। बर्दियाका स्थानीयले कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाएका छन्।

सरकारले लकडाउन घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर ननिस्कन निषेधाज्ञा जारी गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। निषेधआज्ञा ‘कर्फ्यु' जस्तै हो। निषेधाज्ञा प्रभावकारी बन्दै गएको छ। 

'बर्दियाका कोही पनि व्यक्तिलाई बाहिर ननिस्कन आग्रह गरेका छौँ। एक प्रकारको कर्फ्यु नै हो। सबैले पालना गर्नुपर्छ' उनले भने। सिमानाका पनि बन्द गरिएको छ। यसको पालना गर्दै अत्यावश्यक काममा बाहेक मानिसहरु बाहिर सडकमा बजारमा निस्केका छैनन्। 

निस्कनै पर्ने मानिसले मास्क प्रयोग गरेका छन्। सेल्फ क्वारेन्टाइन भन्दै मानिस घरमै बसेका छन्। अधिकांश मानिसले घरमै बसेर सामाजिक सञ्जालमार्फत अरुलाई पनि सर्तकता अपनाउन, हिडडुल नगर्न आग्रह गर्ने गरेका छन्।

बर्दियाका अधिकांश स्थानीय तहले आइसोलेसन वार्ड र क्वारेन्टाइन व्यवस्थापन गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.