|

एजेन्सी : विश्वभर बढ्दो कोरोना संकटका कारण खेलकुद जगत् प्रतिक्रियाविहीन छ। विश्वका सबैखाले ठूला प्रतियोगिता एक वर्षपछि सरेका छन्। ठूलो खर्च र विश्वको नजर पर्ने ओलम्पिक, युरो तथा कोपा अमेरिका एक वर्षपछि सरेका छन्।

महामारीका रुपमा फैलिरहेको कोरोनाविरुद्ध सचेतनाका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफा आफैं अघि सरेको छ। यसैबीच अर्जेन्टिनाका बार्सिलोना स्टार लियोनेल मेसीसहित भारतका राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षत्री पनि यो अभियानमा सरिक भएका छन्।

फिफाले विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगको सहकार्यमा कोरोनाबाट बच्‍न अभियान चलाउने तयारी गरिरहेको छ। जसमा विश्‍वका चर्चित वर्तमान र पूर्वखेलाडीहरुलाई प्रयोग गर्न लागिएको हो। कोरोनाको संक्रमणबाट जोगिनका लागि ५ वटा उपाय सो भिडियो सन्देशमार्फत दिइने बताइएको छ। भिडियोमा ‘पास द म्यासेज टु किक आउट कोरोना भाइरस’ भन्‍ने सन्देश रहेको छ। भिडियोमा डब्ल्युएचओको मार्गनिर्देशन अनुसार हात धुन, खोक्दा सदाचार अपनाउन, अनुहारमा नछुन, शारीरिक दूरी र घरमै बस्‍न आग्रह गरिएको छ। यस्तो भिडियो सन्देश १३ भाषामा निर्माण गरिने जनाइएको छ। जसमा २८  जना खेलाडी प्रयोग गरिने जनाइएको छ। 

फुटबलका चर्चित हस्तीहरु लियोनल मेसी, विश्‍वकप विजेता फिलिप लाहम, इकर कासिलास र कार्लोस पुयोल प्रयोग हुने बताइएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना भाइरसको महामारीविरुद्धको यस्तो सन्देश दिने सुरुवात गरिएको जनाइएको छ। ‘यसले विश्वभर कोरोना विरुद्धसँगै लड्ने
सन्देश दिनेछ’, डब्ल्युएचओकाका प्रबन्ध निर्देशक टेड्रोस अडानोम घिब्रेयसुले भने। डब्ल्युएचओको कोभिड १९ विरुद्धको अभियानका लागि फिफाले १० मिलियन डलर आर्थिक सहयोग गरिसकेको इन्फान्टिनोले बताए। ‘हामीले संयुक्त रुपमा काम गर्नुपर्ने हुन्छ। स्वास्थ्य पहिलो प्राथमिकता हो’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.