|

बागलुङ : फ्रान्सबाट कतार हुँदै बागलुङ आएकी बागलुङ नगरपालिकाकी एक महिलालाई कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ।

बुधबार धौलागिरी अञ्चल अस्पताल र स्वास्थ्य कार्यालय बागलुङका चिकित्सकको समूहले उनको घाँटीको स्वाब निकालेर कोरोना परीक्षणको लागि प्रादेशिक प्रयोगशाला पोखरामा पठाएको हो। उक्त नमुना प्रादेशिक प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउने छ।

बिहीबारसम्म उक्त नमुना परीक्षणका लागि सम्बन्धित ठाउँमा पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लगायतका समस्याबाट ग्रसित महिलालाई संक्रमण भए नभएको पुष्टि गर्न नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको हो।

मंगलबार नै बिरामीले परीक्षणका लागि नमुना संकलन गरिदिन परिवारले आग्रह गरेपछि स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिइ) को अभाव हुँदा संकलन प्रभावित भएको थियो। 

पिपिइको अभावका कारण चैत ५ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनको नमुना संकलन गर्न सकिएको थिएन। मंगलबार बेलुका स्वास्थ्य मन्त्रालयले उपलव्ध गराएका दुई र सामाजिक विकास मन्त्रालयले उपलव्ध गराएका तीनवटा पिपिई प्राप्त भएपछि बुधबार उनको घाँटीको स्वाब निकालिएको हो।

प्राप्त पाँचथान सुरक्षा कवच समेत पूरा नरहेकाले नेपाली सेनाको सहयोगमा चस्मा र जुत्ताको व्यवस्था गरेर स्वास्थ्यकर्मीको समूह उनको घरमै पुगेर नमुना संकलन गरेको हो। उनी काठमाडौंमा कोरोना संक्रमणको पुष्टि भएकी युवतीसँगै कतार एयरवेजबाट नै आएकी थिइन्।

पिपिइ नलगाई बिरामीलाई आइसोलेसनसम्म ल्याउन नमिल्ने र स्वास्थ्यकर्मी समेत बिरामीको नजिक जान नमिल्ने अस्पतालका डा. पुजन बल्लले जानकारी दिए। पाँच थान पिपिई प्राप्त भएसँगै शंकास्पद थप बिरामी आए पनि नमुना संकलन गर्न सकिने उनले जानकारी दिए।

जिल्लामा शंकास्पद बिरामी देखिन थालेपछि ३० थान सुरक्षा कवच तत्काल खरिद गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.