|

हेटौंडा : मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका स्थानीयमा कोरोना भाइरस लक्षण देखापरे प्रतिबिरामीलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकमबाट याे आर्थिक सहयोगका साथै निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउने निर्णय गरिएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

कोरोना संक्रमण हुन नदिन गाउँपालिका छिर्ने मनहरी खोलाको नाकामा कडाइ गरिएको बताउँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले कोही स्थानीयलाई कोरोनाका लक्षण देखिए आर्थिक सहयोगको साथै एम्बुलेन्ससमेत उपलब्ध गराइने निर्णय गरिएको जानकारी दिए। ‘हाम्रो गाउँपालिकामा निकै विकट र यहाँका विपन्‍नको अवस्थालाई समेत मध्यनजर गर्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । 

'कोरोनाको लक्षण देखिए पनि आर्थिक अभावका कारण रोग लुकाएर बस्‍नुपर्ने अवस्था नआओस् भन्‍नका लागि हामीले तत्काल आर्थिक सहयोग गर्ने घोषणा गरेका हौं,’ अध्यक्ष मल्लले भने। 

गाउँपालिकाले सबै स्वास्थ्य संस्थाहरुमा हेल्थ डेस्क स्थापना गर्ने, स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा सेवा प्रवाहमा परिचालन गर्ने पनि निर्णय गरेको छ । साथै आवश्यक स्वास्थ्य सामग्रीहरु तत्काल खरिद गर्ने, स्वास्थ्यकर्मीहरुलाई उपचारमा आवश्यक ड्रेस खरिद गर्ने, गाउँपालिका क्षेत्र भित्र क्‍वारेन्टाइन र आइसोलेसनका लागि उपयुक्त स्थान छनोट गरी आवश्यक व्यवस्था मिलाउने, गाउँपालिका क्षेत्रका जनतालाई १५ दिनसम्म सार्वजनिक स्थलहरुमा उपस्थित हुन, बिहे, भोजभतेर, गासा, छेवर, जात्रा, मेला, महोत्सव, हाटबजार आदि गर्न रोक लगाउने जस्ता निर्णय पनि गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.