|

म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङमा मजदुरी गरेर आफ्नो देशमा जानका लागि ट्रकमा चढेर बेनी आएका १० जना भारतीय मजदुरलाई म्याग्दी प्रहरीले मुस्ताङमा नै फिर्ता पठाएको छ।

निषेधाज्ञाका समयमा मुस्ताङको जोमसोमबाट १० जना मजदुर लिएर बेनी आएको लु १ ख ८०११ नम्वरको ट्रक र त्यहाँ सवार मजदुरलाई मुस्ताङमा नै फिर्ता पठाइएको हो। अत्यावश्यक सामाग्रीसहित मालबाहक सवारी साधन चल्न पाउने भए पनि यात्रुसहित आएको कारणले गर्दा प्रहरीलाई अनुरोध गरेरै मुस्ताङ नै फिर्ता पठाइएको नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले जानकारी दिए।

जोमसोमबाट रातको समयमा हिडेरे बेनी बजारको कालिपुल आइपुगेको उक्त ट्रकमा भारतीय मजदुर थिए। मुस्ताङमा काम गर्ने ती मजदुर देशैभरि लकडाउन भएपछि काम बन्द गरेर भारत आफ्नो फर्कन लागि ट्रकमा चडेर बेनी आएको बताइएकाे छ। म्याग्दीमा बुधबार कुनै पनि यातायातका साधन संचालन भएका थिएनन्।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनसम्वन्धी सवारी साधन भने आवश्यकताअनुसार चलिरहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए। निषेधाज्ञाको उल्लंघन गर्न नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि तयारी अवस्थामा रहेका छन्।

सुनसान म्याग्दी : खेतीपाती र मजदुरीको काम पनि बन्द

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सोमबार रातिदेखि सरकारले पूरै देश लकडाउन गर्ने निर्णग गरेपछि बुधबार विहानदेखि नै म्याग्दीमा बजार, यातायात, सार्वजनिकस्थल र ग्रामीण क्षेत्र समेत सुनसान देखिएका छन्। सार्वजनिक यातायातका साधन नचलेपछि सडक सुनसान छन् भने बजारका पसल समेत खोलिएको छैनन्।

सदरमुकाम बेनीदेखि जिल्लाका विभिन्न गाउँमा जाने यातायातका साधन पूर्णरुपमा बन्द गरिएको छ। स्थानीय सरकार र प्रशासनले जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा मानिस जमघट हुन र घरबाट बाहिर निस्कन रोक लगाएपछि यसको पालन स्थानीयले सहज रुपमा गरेका छन्। अन्य अवस्थामा विभिन्न प्रयोजनका लागि अनेक समुदाय वा राजनीतिक दलले आह्वान गरेको बन्दलाई अवज्ञा गर्ने गरेका स्थानीयले सरकारले यस पटक गरेको बन्दको आग्रहलाई भने स्वीकार गरेका छन्।

बेनी नगरपालिका २ बगरफाँटका शिव घिमिरेले भने, ‘अलिकति समस्या त हुन्छ नै। तर यो सबै हाम्रै स्वास्थ्यका लागि सरकारले गरेको सावधानी हो। यसलाई अवज्ञा गर्नु हुँदैन। बरु सरकारलाई सहयोग गर्नुपर्छ।’ जिल्ला सुरक्षा समितिले लक डाउन गर्ने निर्णय गरेसँगै सर्वसाधारण कोही पनि आफ्नो घरबाट निस्किएका छैनन्।

दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न दिने निर्णय अनुसार विहान बेनी बजार र ग्रामीण क्षेत्रका बजार समेत पूर्णरुपमा बन्द गरिएको छ। 

जिल्लाका ग्रामीण क्षेत्रमा यतिबेला मकै छर्ने, तोरी थन्क्याउने, आलु खन्ने जस्ता कामको चटारो भए पनि स्थानीयले केही दिन सो कामलाई थाँती राखेर घरभित्र वस्ने बताएका छन्। त्यसैगरी मजदुरी गर्ने व्यक्तिले समेत काम छोडेर घरमा गएका स्थानीय भीमबहादुर कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.