झापा : जिल्लामा लकडाउन उल्लघंन गर्नेप्रति प्रहरीले कडा कदम चाल्ने भएको छ। बुधबार दोस्रो दिन पनि जिल्लावासीले लकडाउन उल्लघंन गरेका घटना देखिएपछि झापा प्रहरी कडा रुपमा प्रस्तुत हुन लागेको हो
पहिलो र दोस्रो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले २ सय ७० बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका सवारीसाधन बेलुका छाड्ने गरेको र त्यसो गर्दा लकडाउन प्रभावकारी हुन नसकेको भन्दै बिहीबारदेखि नियन्त्रणमा लिएका कुनै पनि सवारीसाधन नछाड्ने प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। ‘अतिआवश्यक तथा प्रशासनको अनुमतिबगेर सडकमा सवारीसाधन चल्न थालेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘त्यसलाई नियन्त्रण गर्न जिल्लाका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको र सवारीसाधन चैत १८ गतेसम्म नछाड्नसमेत जानकारी गराइसकेका छौं।’ प्रहरीले पहिलो दिन १ सय ८० र दोस्रो दिन ८८ वटा सवारीसाधन नियन्त्रणमा लिएका थिए। त्यसमा सबैभन्दा बढी मोटरसाइकल रहेको जनाइएको छ।
चार जना प्रहरी नियन्त्रणमा
लकडाउन उल्लघंन गरेको भन्दै झापा प्रहरीले बुधबार चार जनालाई नियन्त्रणमा लिएको छ। भद्रपुरबाट दुई जना र झापा गाउँपालिकास्थित कुमरखोदबाट दुई जना गरी चार जनालाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ। लकडाउन उल्लघंन गर्दै घरबाट घुम्न बाहिर आएका उनीहरूलाई प्रहरी नियन्त्रणमा लिएपछि पहिलो पटक चेतावनी दिएर साँझ छाडिदिएको डिएसपी श्रेष्ठले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।