सेनाको हेलिकोप्टरले सातै प्रदेशमा लैजाने

|

काठमाडौं : चिनियाँ खर्बपति ज्याक माले पठाउने मेडिकल सामाग्री आइतवार काठमाडौं आइपुग्ने भएका छन्। अलिबाबा फाउन्डेसनका प्रमुखसमेत रहेका ज्याक माले निशुल्क उपलब्ध गराउने मेडिकल सामाग्री आइतवार काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ज्याक माले नेपाललाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गर्ने भएका हुन्। तिनै सामाग्री उनले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालाई पनि दिएका छन्। 

उनले दिएका एन ९५ मास्कसहितका मेडिकल सामाग्री बोकेको चार्टर्ड जहाज बुधबार पाकिस्तान पुगेको छ। चिनियाँ दिग्गज इकमर्स कम्पनी अलीबाबाका संस्थापक तथा एसियाका सबैभन्दा धनी माले 'एउटै विश्व एउटै लडाई' नारासहित सहयोग गरिरहेका हुन्। उनले यही शनिवार कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनका छिमेकी एसियाली मुलुकलाई ठूलो मात्रामा सहयोगको घोषणा गरेका थिए।

चिनियाँ सञ्चारमाध्यमका अनुसार ज्याकमाले चीनका छिमेकी राष्ट्रका लागि १० लाख ८ हजार मास्क, २ लाख १० हजार कोरोना परीक्षण किट, ३६ हजार प्रोटेक्टिभ पोशाक, भेन्टिलेटर र थर्मोमिटर दिने बताएका थिए। 

ज्याक माको कम्पनीले एसियालीसँगै युरोपेली मुलुकलाई पनि सहयोग गरिरहेको छ। बुधबार पाकिस्तान गएको चिनियाँ जहाज मेडिकल सामाग्री बोकेर आइतवार नेपाल आइपुग्ने भएको हो। 

सातै प्रदेशमा लगिने 

चिनियाँ चार्टर्ड जहाजले त्रिभुवन विमानस्थलमा उतार्ने मेडिकल सामाग्री त्यही दिन सातै प्रदेशमा पुर्‍याउने तयारी सरकारले गरेको छ। 'चीनबाट आउने ती सामान तत्कालै सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा पुर्‍याउँछौं', स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने,'ज्याक मासँगै चीन सरकारले दिने अन्य सामाग्री ल्याउन पनि आवश्यक पहल भइरहेको छ। ती सामान पनि केही दिनमै आइपुग्छन्।

चीनमा कोभिड-१९ को संक्रमण विरुद्ध लड्न चिनियाँ सरकारलाई आर्थिकसहित स्वास्थ्य तथा अनुसन्धानमा सहयोग पुर्‍याएको ज्याक मा फाउन्डेशनले चीनमा कोभिड-१९ को संक्रमण नियन्त्रण तर्फ जाँदै गर्दा बाँकी विश्वलाई पनि सहयोगको हात बढाएको छ।

अरु देशलाई पनि सहयोग

ज्याक माको फाउन्डेसनले अहिले युरोपेली र अमेरिकी मुलुकलाई सघाइरहेको छ। कोरोना भाइरससँग लडिरहेका ती मुलुकका लागि अत्यावाश्यकीय मेडिकल सामाग्री धमाधम पठाइँदैछ। 

फाउन्डेसनले कोरोना भाइरससँग जुधिरहेको अमेरिकामा मास्कसहित टेस्ट किट पठाएको थियो। फाउन्डेसनले अमेरिकामा पाँच लाख परीक्षण किट र १० लाख मास्क पठाइसकेको छ। यो फाउन्डेसनले कोरोना फैलिएका दक्षिण कोरिया, इरान, स्पेन, जापान र इटालीसहितला पनि सहयोग गरिरहेको छ।

ज्याक माले यही आइतवार कोरोना भाइरससँग जुधिरहेका अर्जेन्टिनासहितका दक्षिण अमेरिकी मुलुकमा पनि २० लाख मास्कसहितका सामान पठाइसकेका छन्। मा त्यतिमै रोकिएका छैनन्। उनले अफ्रिकी मुलुकका लागि पनि ११ लाख कोरोना परीक्षण किट, ६० लाख मास्क र ६० हजार पोर्टेक्टिभ पोशाक उपलब्ध गराएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.