मान्छे पठाए मात्रै, नमुना पठाउन साधन छैन : डा. मण्डल

|

बारा : कोरोना भाइरस कोभिड १९ को सक्रंमण देखिएकी नेपाली युवतीसँगै हवाई यात्रा गरेका मध्येका २ युवक बुधबार बारामा फेला परेका छन्  । 
कलैया उपमहानगरपालिका ७ बरेवा स्थायी ठेगाना भएका सलाउद्दिंन अन्सारी र वडा नम्बर २० बस्ने शेख अख्तर महमदलाई प्रहरीले आज (बुधबार) फेला पारेको हो।  

ती दुवै  युवकलाई प्रहरीले केही दिनदेखि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सहितको स्वास्थ्य टोलीले आज बिहान उनीहरुलाई घरबाटै उद्धार गरेर जिल्ला अस्पताल कलैयाको क्‍वारेन्टाइनमा पठाएको हो। 

‘दुवैलाई कलैयास्थित जिल्ला अस्पतालको क्‍वारेन्टाइनमा राखिएको छ, स्वास्थ्य परीक्षणका कम्रमा हालसम्म कुनै लक्षण देखिएको छैन,’ जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले भने, ‘अहिले हामीले दुवैको परिवारलाई घरबाट बाहिर ननिस्कन र होम क्‍वारेन्टाइनमा बस्न निर्देशन दिएका छौ।’ आजदेखि क्‍वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा बसेका अन्सारी र अख्तरको  कोरोना भाइरस कोभिड १९ को परीक्षण गर्न नमुना संकलन गर्ने स्रोत साधन जिल्लामा नभएको कारण नमुना पठाउन नसकिने जिल्ला अस्पताल कलैयाका  डा. वीरेन्द्र मण्डलले जनाएका छन्। ‘हामी सँग स्रोत साधन केही छैन यदी परीक्षणमा पठाउनुपर्‍यो भने मान्छे नैं पठाउनु पर्ने बाध्यता छ’, डा. मण्डलले भने। 

चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरलाइन्सको विमानवाट  नेपाल आएका १ सय ५८ जना यात्रुमध्ये बारामा भेटिएका २ जनालाई कोठामा राखेर निगरानी गरिएको छ। सो जहाजमा यात्रा गरेकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि नेपाल सरकारले चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आउनेहरुको  खोजी गरिरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.