|

पाल्पा :  छिमेकी मुलुक भारतबाट आएका ३७ जनालाई पाल्पास्थित विभिन्न क्वारेन्टाइनमा राखिएको छ।

जिल्लाको तानसेन नगरपालिका–६ वर्तुङस्थित जनप्रिय माध्यमिक विद्यालय र बगनाशकाली गाउँपालिका–१ चिर्तुङधारामा रहेको ग्राम्य माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए। उनका अनुसार ३७ जना भारतबाट नेपाल आएका हुन्। धनगढीको गड्डाचौकी नाका हुँदै नेपाल आएका उनीहरू अधिकांश पाल्पाका रहेका छन्।

३३ जना पाल्पा र ४ जना बागलुङका रहेको उनले बताए। २६ जना जनलाई जनप्रिय माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ भने ११ जनालाई ग्राम्य माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ।

तत्काललाई यहाँ राखिएका उनीहरूलाई क्वारेन्टाइनको अवस्था बुझेर सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाउने उनले बताए। उनीहरूमध्य ११ जना रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका २२ जना र ४ जना बागलुङका रहेका छन्।

धनगढीबाट पोखरा चल्ने ना ५ ख ७२३२ नम्बरको बसमा गएराती १२ बजे उनीहरू पाल्पा आइपुगेका थिए। धनगढीको गड्डाचौकी हुँदै नेपाल प्रवेश गरेका उनीहरूलाई धनगढी प्रहरीले सम्पर्कमा ल्याएको थियो।

धनगढी प्रशासनले पाल्पा प्रशासनलाई समन्वय गरेर उनीहरूलाई यहाँ पठाएको निमित्त प्रमुख न्यौपाने बताए। उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.