|

सोलुखुम्बु : सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ।

केही समय अघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उद्धार गरी काठमाडौं पठाइएको हो। उनीहरूलाई गाउँपालिकाका विभिन्न स्थानबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन्।

मंगलबार विभिन्न हेलिकोेप्टर मार्फत ६ जनाको उद्धार गरिएको थियो भने बुधकार गाउँपालिकाको पाङबोचेबाट ४ जनाको उद्धार गरिएको हो। नेपाल नागरिक उडड्यन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीका अनुसार बुधबार उद्धार गरिएको सबै ४ जना रसियान नागरिक हुन्।

अधिकांश लेक लागेर बिरामी परेका छन् भने केही चोटपटक समेत लागेर उद्धार गर्नु परेको बताइएको छ। लुक्ला प्रहरीले दिएको तथ्यांक अनुसार अहिले लुक्लामा १३६ जना विदेशी पर्यटक रहेका छन।

नेपाल सरकारले कोरना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै लकडाउन गरेपछि करिब ३ सय पर्यटक खुम्बु क्षेत्रमा नै अलपत्र परेका छन्। अलपत्र परेका पर्यटकलाई कुनै पनि स्वास्थ्य समस्या आएमा तत्काल हेलिकोप्टरमार्फत उद्धार गरी उचार गर्नुपर्छ। यस क्षेत्रमा स्वास्थ्य व्यवस्था भरपर्दो नहुँदा विदेशी पर्यटक तथा उनीहरूका सहयोगी समेतको थप उचारको लागि हेलिकोप्टरकै प्रयोग गरी काठमाडौं लाने गरिएको छ।

धेरै माथिल्लो गएकालाई खाद्यन्न समेत अभाव हुन सक्ने सम्भावना बढेको सोलुखुम्बुका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले बताए। उनकाअनुसार महाकुलुङ गाउँपालिका वडा नम्बर १ को ठाङ्नाका करिब ७ जना विदेशी पर्यटकको लागि खाद्य अभाव भएको छ। बुधबार नै खाद्यन्न अभाव भएको खबर प्राप्त भए पनि ढुवानी गराउन नसकेको उनको भनाई छ।

गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने भएकाले समस्या भएको उनको भनाई छ। माथिल्लो क्षेत्र भ्रमणमा जाने पर्यटकले सीमित समयका लागि खाद्य सामग्री साथमा लिएर गएका हुन्छन्।

लामो समय बस्नु परेका खण्डमा खाद्यन्न अभाव हुने र ढुवानी गर्ने स्थान समेत भौगोलिक बिकट्ताका कारण निक्कै टाढा हुँदा समस्या हुने पदयात्री धनकुमार तामाङको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.