|

तनहुँ : नोभल कोरोना (कोभिड १९) को महामारी विश्वमा फैलिएसँगै तनहुँमा आइसोलेसन वार्ड निर्माणमा स्थानीय तहले चासो दिएको छ।

वैदेशिक रोजगारी तथा काठमाडौंलगायतका शहरी क्षेत्रबाट गाउँमा फर्किएकाले संक्रमण बढ्न सक्ने भएकाले स्थानीय तह सचेत बनेको हो। शंकास्पद कोरोना भाइरसको संक्रमणको महामारीलाई नियन्त्रण गर्नका लागि तनहुँका सात स्थानीय तहका अस्पताल तथा स्वास्थ्य चौकीले आइसोलेसन वार्ड तयार पारेका छन्। जिल्लामा हालसम्म ६७ वटा आइसोलेसन वार्ड तयार गरिएको छ। 

व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, देवघाट र घिरिङ गाउँपालिकामा आइसोलेसन वार्ड तयार गरिएको छ।

व्यास नगरपालिका ३ दमौलीस्थित किरियापुत्री भवनमा ८, शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारास्थित जिपि कोइराला राष्ट्रिय स्वास्थ्य केन्द्रमा २७, शुक्लागण्डकी नगरपालिकाकै तनहुँ सेवा अस्पतालमा ४ शय्याको आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा ८, भानु नगरपालिकाको पुरानडिही अस्पतालमा ४, म्याग्दे गाउँपालिकामा ५, घिरिङ गाउँपालिकामा ६ र देवघाट गाउँपालिकामा ५ शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको छ। 

स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले भने, ‘सरकारले अत्यावश्यक बाहेक घरबाट बाहिर तथा २५ जना भन्दा बढीको समूहमा नबस्न आग्रह गरेसँगै गाउँ फर्किनेको संख्या बढेकोले आइसोलेसन वार्ड सबै स्थानीय तहले तयारी गरिरहेका छन्। शहरमा बसोबास गर्ने गाउँतर्फ फर्किएपछि गाउँमा खतरा छ। त्यसैले स्थानीय तह सचेत हुनुपर्ने अवस्था छ।’ 

जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सहायता कक्ष भने स्थापना भइसकेका छन्। अहिले नेपालमा विस्तारै कोरोना संक्रमित बढ्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरेर सर्वसाधारणले सचेत हुनुपर्ने अवस्था रहेको उनको भनाई छ। वैदेशिक रोजगारीको क्रममा विभिन्न देशबाट फर्किएका आफन्त वा नजिकका कोही भए कोरोना भाइरस फैलिन नदिन स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायसँग सम्पर्क गर्न उनको सुझाव छ। 

कोरोनाको महामारी फैलिएसँगै शहर तथा विदेशबाट गाउँतर्फ फर्किएकाले विशेष गरी सर्वसाधारणलाई होम क्वारेन्टाइनमा बस्न तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले आग्रह गरे। उनका अनुसार शहरी क्षेत्रका जिल्लावासीका लागि सामुदायिक विद्यालय, कलेजमा क्वारेन्टाइन बनाइएको छ। 

जिल्लामा कोरोना भाइरस भित्रिन नदिनका लागि हेल्प डेस्क, साबुन पानी र सेनिटाइजरले हात धुने, कोरोना भाइरसबाट बच्ने उपायहरूको पोस्टर, पाम्प्लेट टाँस्ने काम गरिएको पनि अधिकारीले जानकारी दिए।

तीन स्थानीय तहले संक्रमितको निःशुल्क उपचार गर्ने

तनहुँका तीन स्थानीय तहले नोभल कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्ने भएका छन्। म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाले नोभल कोरोना भाइरसको संक्रमण भएका पालिकावासीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने जनाएको छ। 

महामारीको रुपमा विश्वभर फैलिएकाले अन्य खर्च कटौती गरेर भए पनि संक्रमितको उपचार महत्वपूर्ण भएकाले यस्तो निर्णय गरेको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, भानु नगरपालिकाका प्रमुख उदयराज गौली र भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले बताएका छन्। 

३ स्थानीय तहमा छैन आइसोलेसन वार्ड

जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहमा आइसोलेसन वार्ड निर्माण गरिएको छैन। त्यसमध्ये भिमाद नगरपालिका, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा आइसोलेसन कक्ष निर्माण गरिएको छैन। भिमाद नगरपालिकामा आइसोलेसन कक्ष निर्माण गर्ने तयारी नै नरहेको प्रमुख प्रशासकीय अधिकृतक थमनसिं थापाले जानकारी दिए। उनका अनुसार सहायता कक्ष निर्माण गर्ने तयारी भएपनि सामग्री आइपुगेको छैन। 

वैदेशिक रोजगारी तथा शहरमा बसेका नगरवासी ग्रामीण क्षेत्रतर्फ फर्किएकाले स्थानीय सचेत हुनुपर्ने भए पनि त्यस्तो तयारी हुन सकेको छैन। जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सहायता कक्षबाट भने सचेतना गराइरहेको छ। 

जिपि कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई पिपिइ

शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग प्राप्त भएको छ। नगरपालिकाका प्रमुख किसान गुरुङले कोरोना संक्रमितको उपचार गर्दा अनिवार्य रुपमा लगाउनु पर्ने सामग्री सहयोग गरेका हुन्। 

नगर प्रमुख गुरुङले एक थान पिपिइ र एक थान थर्मल गन नगरपालिकाको तर्फबाट हस्तान्तरण गरेको केन्द्रका निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिए। गुरुङले विरामीको उपचार गर्दा सुरक्षित गराउने उद्देश्यले प्रदान गरिएको बताए।

पिपिइले कोरोना भाइरसको शंकास्पद बिरामी तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणमा टेवा पुग्ने  डा.श्रेष्ठले बताए। सामग्री सहयोगले स्वास्थ्यकर्मीको मनोबल बृद्धि हुने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.