अन्य केहीको रिपोर्ट प्रतीक्षामा

|

बागलुङ : लकडाउन घोषणा भएकै दिन उनलाई ज्वरो आएर अस्पतालको सम्पर्कमा पुगेका भारतको पटनाबाट आएका बागलुङका एक युवालाई कोरोनाको लक्षण देखिए पनि सो संक्रमणको पुष्टि भएन।

स्वास्थ्यकर्मीले प्रारम्भिक उपचारपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। परीक्षणको नतिजा कुर्न तीन दिन धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार  गरिएका उनको बिहीबार दिउँसो मात्र उनको नेगेटिभ रिपोर्ट आयो। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनको नेगेटिभ रिपोर्ट आएको जानकारी पाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताएका छन्।

‘आइसोलेसनमा राखेर तीन दिनदेखि उपचार गराउँदा उनको बिरामी कम भइरहको थियो’ पोखरेलले भने, ‘नेगेटिभ आउनेमा ढुक्क थियौं। रिपोर्ट आएपछि हामी पनि ढुक्क भएका छौंं।’ नेगेटिभ आएकोले बिहीबरै उनलाई डिस्चार्ज गरेर घरमा पठाइएको उनले बताए। तर घर गए पनि ती युवालाई अरु एक सातासम्म होम क्वारेन्टाइनमै बस्न सुझाव दिइएको छ।

बागलुङका अन्य तीन जनामा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। कोरोना भाइरस संक्रमित युवती आएकै जहाजमा आएकोले ढोरपाटन नगरपालिका ५ का एक युवा पनि होम क्वारेन्टाइनमा छन्।

बानपा ४ कुंडुलेकी एक युवती फ्रान्सबाट आएपछि ज्वरो आएकोले उनको स्वाब पनि परीक्षणका लागि टेकु प्रयोगशालामा पठाइएको छ। बागलुङकै गौडाकोटकी एक महिला पनि बिदेशबाट आएपछि ज्वरो आएकोले होम स्क्वारेन्टाइनमा राखिएको छ। 

अस्पतालमा सफाई अभियान

कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि धौलागिरी अञ्चल अस्पतालले दैनिक दुईपटक किटाणु मार्ने औषधि छर्कन थालेको छ। अस्पतालमा बिहान र बेलुकी स्प्रे गरेर औषधि छर्कन थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए। 

अस्पतालको प्रवेशद्वारमा नै सोधपुछका लागि हेल्थ डेस्क पनि बनाइएको छ। उक्त डेस्कबाट बिरामीको प्रारम्भिक सोधपुछ हुन्छ। यसरी सोधपुछपछि अस्पताल छिर्नै पर्ने बिरामी भए मात्र पठाउने र नभए सल्लाह दिएर फिर्ता गरिएको छ। यो डेस्कको कारण अस्पतालमा भीड नहुने वातावरण बनाइएको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।

अत्यावस्यक सेवा मात्र अस्पतालबाट दिने र सामान्य बिरामीलाई स्वास्थ्यचौकी र निजी क्लिनिकबाट सेवा लिन पनि भनिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.